काठमाडौं उपत्यकालाई नेवारी समुदायको बसोवास गर्ने थलोको रुपमा चिन्दथे । काठमाडौं उपत्यकाको खेतबारीहरुमा जताततै लहैलह धानको बाला फल्थे । विडम्वना जुन काठमाडौं उपत्यकामा आज घरैघरले भरिएको छ । यस्तो अवस्थामा विगतमा कस्तो थियो भन्ने अनुमान गर्न सकिदैन । यही विषयमा कृषि विज्ञ लेखक पन्नारत्न महर्जनसँग कृषि जर्नल मासिकको लागि धनबहादुर मगरले गरेको कुराकानीको प्रस्तुत ः अंश
संक्षिप्तमा यहाँको परिचय दिनुहोस् ?
मेरो नाम पन्नारत्न महर्जन काठमाडौं विष्णुमती खुशीबु, मेरो पुर्खा पहिलेदेखिनै खेती किसानी, अहिले मेरो रिटाएर लाइफ, । अहिले मैले पनि अलिअलि करेसाबारी जसरी खेती गरिराखेको हुन्छु ।
तपाई काठमाडौंको रैथाने वासिन्दा त्यसमाथि महर्जन किसान परिवारमा जन्मे हुर्केका, हिजो र आजको कृषिमा के भिन्नता पाउनु भएको छ ?
कृषिमा धरै भिन्नता आईसकेको छ । पहिले परम्परागत तरिकाबाट गरिन्थ्यो । अहिले आधुनिक तरिकाले गरिन्छ । त्यसमाथि मलखाद बिउबिजन, औजार, तिनीहरुमा समेत धेरे भिन्नता आईसकेको छ ।
तपाई यहाँको पुर्खौदेखि किसानको छोरो के सोँच राखेर कृषि किसानका विषयमा नेपाल भाषा (नेवारी) भाषामा कृषि सम्बन्धी किताव लेख्नु भयो ?
हाम्रो परम्परागत कृषि प्रविधि कृषि विज्ञानमा आधारित छन् । यस्ता ज्ञानहरु वैज्ञानिक रुपमा सञ्चालित हुनुपर्ने हो, त्यस्तो भएको छैन । किसानहरुले त्यसलाई बुझिराख्नु भएको छैन । त्यसको प्रचार प्रसार हुन सकिरहेको छैन । त्यो स्तरमा एकले अर्कालाई भन्यो, अर्काले अर्कालाई भन्यो, त्यही प्रक्रियाबाट सिपहरु हस्तान्तरण भएको देखिन्छ । त्यसमा कुनैमा अलिबढी कुनैमा अलि घटी त्यस्तो भएको देखिन्छ । हामीमा भएको बिउबिजन परम्परागत शैलीमा आफ्नै ढंगबाट लिने गरिन्थ्यो । तरिकाहरु पनि भिन्दैथियो, पछि हुँदाहुँदै, हराएर जाने अवस्था देखियो । उदाहरणको लागि धान र स्थानीय जातको तरकारीका जातहरुको बीउ पाउन गाह्रो भईसकेको अवस्था छ । कसरी हाम्रो अग्रजहरुले जोगाई राख्यो होला ? हामीले त्यसको ख्याल नगर्दा लोप हुने अवस्था आयो । त्यसलाई मैले लिपिवद्ध गरि राखियो भने सुरक्षित गर्न सहयोग पुग्छ भनेर किताव लेखेको हो । भोली के कस्तो हुन्छ भनेर कसैलाई थाहा छैन । हिजो मान्छेले आज यस्तो होला भनेर चिताएको हुँदैन । भोली के हुन्छ भनेर थाहा हुँदैन । भोली हाम्रो त्यो प्रविधि रिपिट गर्नेहरु जन्मिन्छ कि ? जन्मिदैन । त्यसलाई लिपिवद्ध गरेर राख्ने सकेनौं भने हराएरै जान्छ । यदि लिपिवद्ध भएको खण्डमा पछि आउने पिँढीहरुले यसलाई फेरि विकसित गराउँछ कि भन्ने आशाले मैले त्यो किताव लेखेको हो ।
यहाँ परिपक्व व्यक्तित्व, यो उमेरमा पनि आफ्नोे जोस, जाँगर, आफ्नो सीप क्षमताहरु उत्तिकै आफ्नो समाजलाई दिईराख्नु भएको छ । हामीले यसो गर्नु पर्छ भन्ने जुन प्रविधि लेखेर राख्नु भएको छ । अरुलाई पनि ज्ञान बाँड्ने हिसाबले लेख्नु भएको छ । जस्तैः उदाहरणको लागि पक्कै पनि मेरो पुर्खाले भोगचलन गर्दै आएको खेतबारी, रोप्दै आएको अन्नबाली, भावी पुस्ताको लागि संरक्षण गर्नु पर्छ भनेर तपाईंले किताव लेख्नु भएको हो । यो किताब लेखिसकेपछि यहाँले यसको प्रतिक्रिया पाउनु भयो कि भएन ?
हाम्रो समाजको कमजोरी भनुँ कि के भनँु, विडम्वान जस्तै हो । मेरो मात्र त्यस्तो होइन अरु कुनै काम गरियो, लेखियो भने पनि त्यसको आलोचना, समालोचना, त्यसको प्रतिक्रिया दिने त्यतिको बानी देखिदैन । मैले कृषि विषयमा लेखिएको किताब पनि धेरै वर्ष भईसकेको छ । किताबहरु कसले पढ्नु भयो थाहा भएन । अहिले चाहीँ मसँग धेरै बाँकी छैन ।
तर मलाई यसको आलोचना, कमीकमजोरी भयो भनेर कसैले भन्नु भएन । मैले यसमा के त्रुटी छ यसमा गल्ती गरेको रहेछु भनेर आफैले पनि हेर्न सकिराखेको छैन । यो हाम्रो समाजको कमजोरी हो कि मेरो आफ्नै ।
धेरै राम्रो अुनभव सुनाउनु भयो । अलि रमाइलो पक्ष हुनसक्छ । विष्णुमति, रुद्रमति र बागमती खोलामा स्थानीय जातको माछाहरु पाइन्थ्यो भनेर भनिन्थ्यो । यहाँलेनै भनिसक्नु भएको छ कि बागमति विष्णुमति खोलाले जमीनको सिमानै मिटाई दिन्छ । कहिले कता पुग्छ, कहिले कता, कसैको त खेतै खाईदिन्छ भनेर भनिसक्नु भएको छ । त्यतिखेर तपाईंले माछा मार्नु भयो कि भएन ?
त्यो बेलाको खोलाको सतह माथि थियो । बालुवा बढी भएपछि पानी बग्दा पनि फिल्टर भएर पानी निर्मल हुँन्थ्यो । अनि खेत र खोलाको चाहीँ गहिराई धेरै हुन्नथ्यो । अलिअलि मात्र फरक थियो । त्यो बेलाकोे खोलामा असला, सिद्रा, सानो सानो हिले माछा यिनीहरु प्रशस्त मात्रामा पाइन्थ्यो । खोला गहिरो नभएकोले पछिसम्म पनि खेतमा पानी नसुक्ने रहेछ । पानीको सतह माथि हुने रहेछ । जब सिमेन्टको प्रयोग भयो सिमेन्टको प्रयोग गर्नु बालुवा चाहियो, बालुवा अनियन्त्रित रुपमा खोलाबाट निकालिएपछि खोला गहिरिएर गयो । जति खोला गहिरिएर गयो जमीनमा भएको पानी सिथिल भएर खोलामा गयो । एकसाल दुईसाल हुँदाहँुदै परसम्म सिथिल भएर गयो । अनि जमीन सुख्खा भयो माछा बस्ने सकेन ।
अर्को कुरा के हो भने पहिले असला र सिद्रा मात्र होइन चिप्ले किरा, अनि जुका त्यतिकै हुन्थ्यो । जब यो रासायनिक मल आउन थाल्यो र रासायनिक मल हाल्दाखेरी त्यसले तिनीहरुलाई विस्थापित गरियो । अहिले जुका र चिप्ले किरा पनि त्यति देखिदैन । माछाहरु पनि मासिएर गयो ।
त्यतिबेला धान, गहुँ मकैबालीको लागि मलको व्यवस्थापन कसरी गरिन्थ्योे ?
समाज पनि अविकसितनै थियो । अन्नपात मात्र लगाउँथ्यो । आधुनिक तरिकाले बालीहरु लगाइदैनथ्यो । हाम्रो भान्छा र घर–घरबाट निस्कने फोहोरहरु त्यहि फालिन्थ्यो । त्यति बेला नकुहिने खालको प्लाष्टिकहरु थिएन । सबै पात अलि–अलि भए कागज हुन्थ्यो । मिल्काउने पनि त्यस्तै मात्र हुन्थ्यो कुहिन्थ्यो । त्यो कुहिएपछि निकालेर त्यसलाई कम्पोष्ट मल बनाउनु सुकाइकन पिसेर धुलो पारी खेतमा हालिन्थ्यो । त्यसमा बोटबिरुवालाई चाहिने सबै तत्वहरु हुन्थ्यो । त्यस किसिमबाट मल राखिन्थ्यो । अर्को कालीमाटी, पहिले झिक्ने गरिन्थ्यो । कालीमाटी एकपटक राखियो भने दुईबालीलाई पुग्थ्यो । त्यसमा कालीमाटीको थुप्रै भेराइटी हुन्थ्यो । बाली लगाउँदा (क्रप रोटेशन) चक्रे बाली प्रणाली गथ्र्यो । चक्रेबाली प्रणालीमा के हुन्थ्यो भने एउटा बालीलाई चाहिने तत्वहरु अर्को बालीलाई नचाहिने हुँदोरहेछ । पात धेरै हुने बिरुवालाई एमोनियम बढी चाहिन्छ । कोशोबालीहरुलाई फस्फोरस बढी चाहिने हुन्छ । त्यो हाम्रा पुर्खाहरुलाई थाहा हुन्थ्यो । त्यसो भएर चक्रे बाली प्रणाली लागु गर्दो रहेछ । त्यसो गर्नलाई उहाँहरु एक्लैले गर्नुहुन्नथ्यो । फाँटका सबै मानिसहरु मिलेर हामीले यो साल यो बाली लगाऔं भनेर सल्लाह गर्दो रहेछ । फसल चाहीँ यस्तो भयो उस्तो भयो भनेर सबैले छलफल गरि अब कुन बाली लगाउने भनेर ? के लगाउँदा राम्रो हुन्छ भनेर छलफल गरेर लगाउँथ्यो । त्यसैले बाली प्रणाली अन्तर्गत तरकारीहरु लगाउँथ्यो । धानमा पनि कहिले मार्सी, कहिले थापथिलो, कहिले तौली गरेर लगाउँथ्यो । त्यसबाट पनि मलखादलाई पुग्ने तत्वहरु त्यहाँ माटोमा भईराखेको हुन्थ्यो । त्यसरी गरिएको बाली राम्ररी सप्रिन्थ्यो ।
कालीमाटी झिक्दा धेरै किसानहरुको ज्यान गयो । बेला–बेलामा त्यस्तो कुरा सुनियो । आज भन्दा पहिलेका पुर्खाहरुले भनिन्थ्यो । र कतिपय कुराहरु लेखेको पनि थियो । हजुरको पालामा कुनै त्यस्तो घटना भएको थियो ?
हामी केटाकेटी छँदा थाहा हुन्थ्यो । कालीमाटी धेरै झिकिन्थ्यो, प्रयोग गरिन्थ्यो । कालीमाटीको कुरा उठाईहाल्नु भयो छोटकरीमा भनौंला । कालीमाटी एकैनाश हुँदैन । ठाउँ अनुसार फरक–फरक हुन्छ । काठमाडौं भ्याली भित्रै पनि एउटा फाँटमा जस्तो अर्को फाँटमा कालीमाटी हुँदैन । कुनै फाँटमा एकडेढ महिनासम्म निकालिन्छ । कुनै फाँटमा एकदुई दिनमात्र निकालिन्छ । कुनै ठाउँमा एकपल्ट निकाले पछि अर्को पटक निकाल्न सकिदैन । त्यसमा भर हुँदैन । अन्तै निकाल्नु पर्छ । त्यसको पहिचान गरेर नक्सा बनाई राखेको हुँदैन । अनुभवको आधारमा यहाँ पहिले कालीमाटी लिएको भनेर थाहा पाउनु पर्छ । त्यस्तो थाहा पाउन सबैले सकिदैन अनुभवी किसान चाहिन्छ । यही नै कालीमाटी छ भनेर निश्चित हुने कुरै हुँदैन । निस्चित नहुँदा कालीमाटी झिक्दाको स्वरुप भिन्दै हुन्छ ।
जुन यहाँले भने जस्तै कालीमाटी निकाल्दा दुर्घटना पनि हुन्छ । कालीमाटी पहिले निकालिएको लिईराखेको खाल्टो ठूलो ठूलो हुन्छ । हाम्रो पहाड जत्रो, जमीन भित्रै ठूलो ठूलो दुलो हुन्छ । पुर्दाखेरी सबै पुर्न सकेको हुँदैन । पानी जमी राखेका हुन्छ । पछि निकालेको र पहिले निकालेका ठाउँमा होस् गर्न सकेन भने पानी फुटेर त्यहाँ आउँछ र दुर्घटना हुनुको एउटा मुख्य कारण पनि त्यही हो ।
त्यसमा एउटा नाइके हुन्छ । त्यो सुइरो विशेष किसिमबाट बनाई राखेका हुन्छ । नाइकेले ५÷६ फिट लामो सुइरोले के छ भनेर पत्ता लगाइन्छ । त्यो सुइरो विशेष किसिमबाट एकदम मिहिन स्लोभ गरि मिलाइएर बनाईएको हुन्छ । त्यसबाट जमीनमा घोचेर नाइकेले हेर्छ । घोचेर हेर्दा त्यसको स्पर्स, त्यसको सुक्ष्म आवाज, त्यसबाट हुने गतिहरु पत्ता लगाउँछ । उसलाई थाहा हुन्छ कि, यहाँ पहिलेको खाल्टो छ । यति पर यस्तो छ । यहाँ चाहीँ यस्तो माटो छ । यहाँ कालीमाटी छैन । अर्कैमाटो छ । त्यसरी थाहा पाएर नाइकेको निर्देशनको चलिन्छ ।
काठमाडौंका किसानहरुको दृष्टिकोणले हेर्नुपर्दा बालाजु, भृकुटीमण्डप, जस्ता धेरै ठाउँमा सरकारले जमीन अधिग्रहण ग¥यो । जबकी सरकारले केही संरचना बनाउनु पर्छ भनेर ग¥यो । त्यतिखेरा मापदण्ड बनाएको थियो । जो अधिग्रहण गरिएको जमीन थियो । अधिग्रहण गरिएको जमीनमा सरकारले सम्बन्धित जमीनवाला किसानहरुलाई क्षेतिपुति दिनुपर्छ भनिएको पनि थियो र मापदण्ड पनि बनाएको थियो । धेरैले के भनेको थियो भने क्षेतिपूर्ति चाहीँ दिएन भनेर गुनासो आएको थियो । यहाँ एउटा अभियन्ता पनि हुनुहुन्थ्यो । सरकारले अधिग्रहण गरेका जमीनमा के हुनु पथ्र्यो जस्तो लाग्छ ?
अधिग्रहण गर्दा सरकारले नियम बनाएको मैले पनि सुनेको हो । जुन उद्देश्यको लागि अधिग्रहण ग¥यो त्यो उद्देश्य अनुरुप त्यो खेत उपयोग गरिएन भने सम्बन्धित जग्गा धनी जोताहलाई फर्काउनु पर्छ भन्ने नियम छ भनेर मैले सुनेको हुँ । तर नियमको पालना गरेजस्तो मलाई लागेन । अर्को कुरा नीति बनाउँदा खेती नीतिलाई एकदम ध्यान दिएर बनाएको जस्तो लागेन । किनभने खेत भनेको कस्तो हुन्छ ? खेती गर्दा फाँटमा कुनै एउटा पर्खाल लाग्यो, जग खन्यो भने जुन खेतमा शरीरको नशा जस्तै जमीनमुनी पानीको नशा हुन्छन् त्यसको प्रणाली बिग्रन्छ । जसले जमीनमा सिँचित बनाईराखेको हुन्छ । जताभावी संरचना बनाउँदा र खन्दा जमीनको पानीको नशा छुटिन्छ त्ससले बालीमा धेरै असर गर्दो रहेछ । मैले त्यो अध्ययन गर्दा थाहा पाएको हो ।
त्यसकारण पनि फाँटको बिचमा ठूलो–ठूलो घर बनाइदैनथ्यो । सानो सानो छाप्रो मात्र बनाइन्थ्यो । पहिले त्यसरी गरिन्थ्यो । त्यसोगर्दा पानीको नशाहरु फुट्दैनथ्यो । यहाँ कुनै स्पष्ट नीतिहरु बनाएको छैन । मेरो विचारमा के हुनुपर्छ भने जुन खेतीयोग्य जमीन हो । खेतीयोग्य ठाउँ त्यहाँ चाहीँ कुनैपनि संरचना बनाउनु हुँदैन । संरचना बनाउने ठाउँमा खेती गर्नु हुदैन । हामी कहाँ त्यस्तो नीति नियम छैन । त्यहीँ घर बनाई राखेको हुन्छ । त्यही खेती गरिएको हुन्छ । त्यहाँ खेतीलाई चाहिएको पानीका नशाहरु छन् छुटेको हुन्छ त्यसैले म के भन्छु यो सरकारको नीति खेतीको लागि उपयुक्त छैन ।
अबको हाम्रो कृषि कस्तो हुनुपर्छ । हिजो जे भयो सकियो त्यो त पूरानो खाली सन्दर्भ मात्र भयो ?
भएको भईसक्यो, अबको कृषि कस्ता हुनु पर्छ भने मैले अघि पनि भनिसकेको छु । खेतीयोग्य जमीनमा अरु संरचनाहरु बनाउनु भएन । खेतीलाईनै छुट्याएको खेतीयोग्य जमीन जुन छ त्यहाँ सिँचाईंको राम्रो व्यवस्था हुनुपर्छ । कृषिको पूर्वाधार भनेको नै सिँचाईं हो । अर्को बिउविजनहरु सही ढंगले व्यवस्थापन हुनुप¥यो । कृषि औजारहरु सही ढंगमा उपलब्ध हुनुप¥यो जुन ठाउँलाई कृषियोग्य जमीनको रुपमा प्रयोग गरिन्छ । त्यही ठाउँमा पूर्वाधारहरु विकास गर्दा स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार, कृषि विभाग, कृषि विकास मन्त्रालय कसको जिम्मा परेको छ उसले भूमि प्रयोगको स्पष्ट नीति बनाएर जानुपर्छ ।
किसानहरुलाई कृषि कर्म गर्न प्रोत्साहन गनुपर्छ । किसानहरुले उत्पाादन गरेका वस्तुहरु यदि बजारमा बेच्न सकेन भने सरकारले जिम्मा लिनु पर्छ ।
अझ भन्ने हो भने मेरो विचारमा कुनै काम गराउँदा सरकारले अनुदान र विमा हुनुपथ्र्यो । जस्तै कति जग्गामा कति उत्पादन गर्न सकिन्छ । बजारमा बिक्री गर्न नसकेको वस्तु सरकारले किनी दिनुपर्छ । उसले कसैगरि दैवीप्रकोप भयो भने सरकारले सहयोग गर्नु पर्छ । सरकारले त्यसलाई केही हेरिदिनु पर्छ । तबमात्र कृषकले आफ्नो हौसला अनुसार काम गर्छ । विना हौसला कुनै पनि काम अघि बढ्न सक्दैन ।
रैथाने बिउबिजन अहिले लोप भईसकेको अवस्था छ । संरक्षण गर्न के गर्नुपर्ला, कतिपय लोप भएको र लोप भईरहेको अवस्था छ । अझ केही बाँकी पनि छ है भन्ने आशा पनि छ, अब भएकोलाई हामीले कसरी संरक्षण गर्न सकिन्छ ?
बिउबिजन जोगाई राख्न हाम्रा पुर्खाहरुको आफ्नै शिपहरु छन् । पहिले पहिले रायो मुला काउलीहरुको स्वरुप हेरिन्थ्यो । पातमा भुत्ला जस्तो भएको, खिचाखिचा भएको, त्यस्तो राखिदैनथ्यो । रौं चाहीँ एकनाशको राखिन्थ्यो । बिउ राख्दा फले पछि पाक्ने बेलामा पूरा पाक्न दिदैनथ्यो । अलिअलि पाक्ने बेला मै उखेलेर एकडेढ हप्तासम्म पानीमा जरामात्रै डुवाई राख्थ्यो । पानीले उसलाई पौष्टिक आहार दिइकन अलिअलि नपाकेकोलाई लागि पाक्न दिन्थ्यो । मुला, रायोको कुरा हो । काउलीको त्यो भन्दाजटिल छ । काउलीको मूल बिउ राख्न पहिले पात हेरिन्छ । पातको स्वरुप एकनाश हुनुपर्छ अनि पातको नशाहरु हुन्छन् । दायाँवायाँ बीचमा डाँठ एउटा हुन्छ । दायाँवायाँ नशा हुन्छ । त्यो नशाहरु एकअर्कामा बराबर हुनुपर्छ एकातिर एकढंग अर्कातिर अर्काे ढंग भयो भने लिईंदैन । त्यो मूल बीउको लागि हो यो । त्यो व्यवसायिक बीउलाई होइन । मूल बिउलाई हो । पात सबै हेरिसके पछि थुँगा निस्किन्छ । थुँगालाई तलसम्म छ कि छैन । तलसम्म भएको र नभएकोमा छिटो आउने ढिलो आउने काउली भनेर हेरिन्छ । छिटो आउने हो भने तलसम्म पात भएको हुनुपर्दैन । ढिलो आउने भए तलसम्मको पात भएको हुनुपर्छ ।
काउलीको बिचमा दानाहरु हुन्छ । दाना चाहीँ कनिका जस्तो हुन्छ । थोप्ला थोप्ला हुन्छ । काउलीको बीच दानामा थोप्ला जस्तो चक्र हुनुपर्छ । चक्र जस्तो भए बीचमा एकथोप्ला हुुनुपर्छ । सबैमा त्यस्तो हुनुपर्छ त्यो थुँगा घाम लागेको बेलामा एकदम नियालेर हेरिन्छ । नियालेर हेर्दा भुत्ला देखिन्छ । भुत्ला देखिएको छ भने राखिदैन । हरियो यस्तो, उस्तो पनि राखिदैन । बिचबाट डाँट निस्केको जस्तो पनि राखिदैन । त्यस्तो किसिमबाट पहिले बिउ राखिन्थ्यो । त्यसले गुणस्तरमा ह्रास हुँदैनथ्यो । पहिले त्यसरी गरिन्थ्यो अब तिनीहरुलाई बचाई राख्न, त्यस सम्बन्धी ज्ञान भएकाहरुबाट तालिम दिएर ग¥यौं भने हामीले पहिलेको परम्परागत रैथाने बीउ बचाउनु सकिन्छ, होइन भने हराएर जान्छ ।