समाचारसहकारी

लेखा समितिले सञ्चालक समितिसँग मिलेर नभई निगरानीमा बसेर काम गर्नुपर्छ ः रजिष्ट्रार घिमिरे

‘सहकारीमा लेखा समिति संस्था भित्रको नियामक हो’
काठमाडौं असोज २५ सहकारी बिभागका रजिष्ट्रार नमराज घिमिरेले लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै सहकारीमा विभिन्न जोखिम रहेकाले त्यसलाई न्यूनिकरण गर्दै अघि बढ्नुपर्ने बताएका छन् । सहकारी बैंकले आयोजना गरेको गोष्ठीमा ‘‘सहकारी सञ्चालन एवं अनुपालना जोखिमः मापन ता व्यवस्थापन रणनीति’’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै उनले जोखिमलाई अवसरको रुपमा लिएर अगाडी बढ्न सके उचाई प्राप्त गर्न सक्ने बताए । सहकारीमा विशेषत कर्जा, तरलता, सञ्चालन, प्राविधिक, व्याजदर, लगानी, साख र अनुपालना जस्ता जोखिम रहेको उनले उल्लेख गरे ।
त्यसैगरी सदस्यको निष्कृयता, कमजोर व्यवस्थापन, फितलो सुशासन, दक्ष जनशक्तिको कमी, स्पष्ट योजनाको अभाव, फितलो अनुगमन, कमजोर वित्तीय व्यवस्थापन र सुशासन सहकारी सञ्चालन तथा अनुपालनाको जोखिम रहेको उनले बताए । सहकारीमा समस्या आउनुमा सदस्यको न्यून सहभागीता पनि मुख्य कारण रहेको उनको भनाई छ । सदस्यसँग भन्दा पनि गैर सदस्यसँग कारोबार गर्दा सहकारीमा समस्या आएको भन्दै ऐन, नियमको परिपालना गरे समस्या नै नआउने उनको दाबी थियो ।
आन्तरिक नियन्त्रण प्रणाली कस्तो छ, त्यसको उपलब्धता र प्रयोगले पनि जोखिमलाई न्यूनिकरण गर्ने भन्दै रजिष्ट्रार घिमिरेले संस्थामा लेखा समितिको भूमिका प्रभावकारी बनाउनु पर्नेमा जोड दिए । लेखा समितिले कार्यविधि बनाई त्यसको कार्यान्वयन र अध्यवधिक गर्दै जान सके जोखिमलाई न्यूनिकरण गर्न सकिने उनको भनाई छ । लेखा समिति सहकारी संस्था भित्रको नियामक रहेकाले सञ्चालक समितिसँग मिलेर नभई निगरानीमा बसेर काम गर्न सके जोखिम न्यूनिकरण गर्न सकिने उनले जनाए ।
सहकारी संस्थाले समय समयमा जोखिम पहिचान गरी त्यसका लागि नीति, कार्यविधि बनाएर लागू गर्न सके जोखिमलाई नियन्त्रणमा राख्न सकिने घिमिरेले उल्लेख गरे । आन्तरिक नियन्त्रण प्रणालीको औजारहरुलाई प्रभावकारी कार्यान्वयन गर्न सके संस्थालाई दिगो बनाई निरन्तर सञ्चालन गर्न सकिने घिमिरेको भनाई छ ।
घिमिरेले कार्यपत्रमाथी टिप्पणी गर्दै सहकारी विभागका पूर्व रजिष्ट्रार डा. टोकराज पाण्डेले समाजमा सहकारीको छवी निमार्ण गर्न नसक्नु अहिलेको मुख्य जोखिम रहेको बताए । सहकारी सदस्य केन्द्रीयतामा चल्ने व्यवसाय भएपनि गैर सदस्यसँग कारोबार गर्दा सहकारीमा समस्या आएको उनको तर्क छ । सहकारीमा बचत फिर्ता नै अहिलेको मुख्य समस्या भएको र त्यसलाई कसरी पार लगाउन सकिन्छ भनेर अभियानले सोच्नुपर्ने पाण्डेले बताए । सहकारीमा पदाधिकारीको लालचाले गर्दा धेरै संस्था खुलेको भन्दै पाण्डेले सहकारीको संख्या अनुसार क्षमता भने वृद्धि नभएको जनाए ।
कार्यक्रमको अध्यक्षता राष्ट्रिय सहकारी महासंघका सञ्चालक डि.बी. बस्नेतले गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close