कृषि विशेषसमाचार

जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्न प्रमको आग्रह

धानको रैथाने बिउविजन संरक्षण गर ः कृषि अभियान कर्मीहरू

काठमाडौं असार १५, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धान बालीमा जलवायुमैत्री प्रविधिहरू प्रयोग गरेर उत्पादन वृद्धि गरिने बताएको छ ।
२१ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव, २०८१ का अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री प्रचण्डले धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसारमा सरकारको प्राथमिकता रहेको बताए ।
“जलवायु परिवर्तनका कारण धानलगायत बालीहरूमा परेको नकारात्मक असर न्यूनीकरण गरी उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसार सरकारको प्राथमिकतामा छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, जैविक विविधताको उपयोग गरी पोषणयुक्त उच्च उत्पादन दिने धानका जातहरूको विकास, तथा उत्पादनमा कृषकमैत्री प्रविधिहरूको प्रयोगमार्फत धान बालीको उत्पादन बढाउने रणनीति लिएको बताए ।
कृषि क्षेत्रको व्यवसायीकरण र विविधिकरणमार्फत मुलुकमा समृद्धि हासिल गर्न पछिल्लो समयमा कृषि क्षेत्रमा जलवायु परिवर्तन ठूलो चुनौंतीको रूपमा देखिएको उल्लेख गर्दै प्रधानमन्त्रीले जलवायुमैत्री प्रविधिहरूको अबलम्वन गरेर उत्पादन वृद्धि गर्न र धान तथा चामलको आयात प्रतिस्थापन गर्न सहयोग पुग्ने बताए ।
हरित ग्याँस उत्सर्जनमा न्यून भूमिका भए पनि जलवायु परिवर्तनका प्रतिकूल असरहरूको जोखिम उच्च रहेका राष्ट्रहरूमध्ये नेपाल भएको बताउँदै प्रधानमन्त्रीले जलवायु परिवर्तनका दृष्टिले संवेदनशील र प्रभावित उप–क्षेत्रमध्ये नेपालको प्रमुख खाद्यान्न बाली धान भएको उल्लेख गरे ।


“जलवायु परिवर्तनका कारण सिर्जित सुक्खा–खडेरी, बेमौसमी वर्षा, बाढी–पहिरो, आकस्मिक रोग तथा किराको प्रकोप, तापक्रममा वृद्धिजस्ता नकारात्मक असरहरूमा अनुकूलित हुने धानका जातहरू र उत्पादन प्रविधिहरूको गर्नुपर्छ,” प्रधानमन्त्री प्रचण्डले भने, उत्पादन बढाएर आयात प्रतिस्थापन गरी धान चामलमा आत्मनिर्भर हुन विशेष योजनाका साथ क्रियाशील हुनुपर्ने बताए ।
धानबाली देशको रणनीतिक बाली भएको उल्लेख गर्दै प्रधानमन्त्रीले तीनवटै तहको सरकारलाई नेपाल सरकारले लिएका नीतिहरूको सफल कार्यान्वयनका लागि आह्वान गरे ।

उनले परनिर्भरता र व्यापार असन्तुलनलाई कम गर्न र राष्ट्रियस्तरमा धानको उत्पादन बढाउन वर्तमान सरकारले रासायनिक मल र गुणस्तरीय बीउको उपलब्धता, प्रविधि विस्तार, अनुसन्धान र विकास तथा न्यूनतम् समर्थन मूल्यको कार्यान्वयनलाई प्राथमिकता दिएको स्पष्ट पारे ।
दीगो विकासका लक्ष्यहरू प्राप्तिका लागि अन्तर्राष्ट्रिय प्रतिवद्धता र कृषि विकास रणनीतिको कार्यान्वयनमार्फत खाद्य पोषण सुरक्षाको अवस्थामा सुधार ल्याउने राष्ट्रिय प्रतिवद्धता रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले प्रमुख खाद्यान्न बालीहरूको उत्पादन तथा उपलब्धतामा वृद्धि, वितरण प्रणालीमा सुधार र खाद्यान्नको उचित उपयोगमार्फत खाद्यान्नमा आत्मनिर्भरता र दीगो खाद्य तथा पोषण सुरक्षा कायम गरिने बताए ।
प्रधानमन्त्रीले “जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि” भन्ने नाराका साथ मनाउन लागिएको २१ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव, २०८१ का अवसरमा धान बालीको उत्पादन र उत्पादकत्व वृद्धिमार्फत समृद्ध अर्थतन्त्र निर्माणमा सबैको ठोस योगदान रहको बताए ।
यसअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले वि.सं. २०७३ मा झापाको बनियानीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको (धान खेती) सुपर जोन कार्यक्रमको उद्घाटन गरेका थिए ।
कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरण गर्ने उद्देश्यअनुरुप सरकारले सुपर जोन, जोन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।


तारकेश्वर नगरपालिका, काभे्रस्थलीमा खाद्यका लागि कृषि अभियान तथा कृषि पत्रकार संघ (अनाज), कालीदेवी उच्च मावि कृषि प्राविधिक प्रशिक्षण कन्द्रको काभ्रेस्थलीको संयुक्त आयोजनामा २१ औं धान दिवस तथा रोपाई महोत्सव कार्यक्रम अन्तर्गत ‘खेतीपाती उत्सव’ कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले नेपालको आधुनिक हाइव्रिड बिउविजनको नाममा आदिवासी रैथानी खेती प्रविधिहरु लोप हुन परेको बताए ।
अनाजका अध्यक्ष किरण आचार्यले नेपालको कृषि क्षेत्रमा सानै भएपनि कृषिमा कलम चलाउने कलमजीवीहरुले धान दिवस मनाउने अवसर जुटाइदिएकोमा धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा २१ औं धान दिवसको अवसरमा धान रोपाईंसँग लोकलाकार गंगा विसी लगायत वरिष्ठ गीत संगीतकर्मीहरूबाट लोकसाँस्कृतिमा आधारित नेपालको जलवायू परिवर्तन, हावापानी र प्रकृतिसँग सम्बन्धित गीत र कृषिप्रति राज्यले वेवास्ता सन्दर्भमा आधारित दोहोरी गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close