कृषि विशेषविचार

कृषि विकासको सवाल र सञ्चारको महत्वमाथि संवाद

काठमाडौं साउन ११ गते खाद्यका लागि कृषि अभियान र कृषि पत्रकार एशोसिएसन अनाजको आयोजनामा कृषि विकासको सवालमा संवाद कार्यक्रम अगाडि बढाइयो । सम्वादमा हामी अहिले इतिहासकै सबैभन्दा कठिन वातावरणीय तथा सामाजिक परिस्थितिबाट गुज्रिरहेका छौं । खाद्य, जलवायू र स्वास्थ्य संकट विश्वव्यापि रुपमा नै निकै पेचिला बन्दै गएका छन् । यसको प्रत्यक्ष र परोक्ष प्रभावल हाम्रो खानाको वन्दोबस्त गर्ने कृषि व्यवस्था निरन्तर ओरालो यात्रामा छ । बहुसंख्यक यूवा किसान किसानीबाट घरवार नचलेर सहर हुदै विदेश पलायन भएका छन् । ११ लाख हेक्टर भन्दा बढि खेतीयोग्य जमिन बाँझो भएको छ र यो हुने क्रम निरन्तर बढ्दैछ । खानेकुराको आयात र महँगी आकासिँदो छ ।
कोभिड १९, रसिया–युक्रेन, इजरायल–प्यालेष्टाइन युद्धका बाछिटाले हाम्रो खाद्य प्रणालीमा परेको प्रभावसँगै सतहमा आएका बढदो तापक्रम, माटोको मरण, पानीचक्रको अनिश्चितता, प्रकृति तथा जैविक विविधता विघटनका साथै वातावरण, खाना र जिवनशैलीले जनस्वास्थ्यमा देखिएका समस्या निकै त्रासदीपूर्ण छन् । अहिले जलवायू परिवर्तन र कृत्रिम रसायन तथा विषादीले सबैभन्दा धेरै प्रभाव स्थानीय खेतिपाती र जनस्वाथ्यमा परेकोछ, जसले हाम्रो समग्र खाद्य प्रणाली नै तहसनहस हुने अवस्था सृजना भएको छ ।
खाद्यान्य आयातबाट देश अहिले थलिएको छ । यसरी आयातित खाद्यान्न पत्रु छ भने यसको समेत महँगी र अभाव दिनदिनै बढिरहेको छ । यसले आम मानिसको दैनिक खाद्य व्यवस्था झनै कष्टकर बन्दै गइरहेको छ । खासगरि, हाम्रा सामाजिक र राजनैतिक व्यवहारले गर्दा सिमान्तकृत हुन बाध्य जनसमुदाय झनै अप्ठेरोमा परेका छन् । यस्ता समुदायमा मुख्यतः ग्रामीण भेगका खेतिपाति गर्ने ज्यालादार श्रमिक, किसानी गर्ने महिला, बालबालिका, दलित, जनजाति, सडकमा रहेका मानिस, शहरमा दैनिक ज्यालादारी गर्ने मजदुर, साना व्यापारी र उद्यमीहरू छन् । आफ्नो रोजगारी र आम्दानी गुमाउदै गएका यी समुदायको खाद्य सुरक्षाको अवस्था विकराल बन्दैछ ।
यी र यस्ता समस्याको कारक र परिणामको भागिदार दुबै बनेको कृषि क्षेत्रको समस्या समष्टिमा संवोधन नगरी आम जनसमुदायको खाना र दैनिक जिवनका न्यूनतम आवस्यकता पुरा हुदैनन् भन्ने कुरामा अब कुनै दुविधा छैन । तर यो वास्तविकता स्विकार गर्न नसकेको राजनैतिक तथा प्रशासनिक नेतृत्व मुकदर्शक सावित भएको छ भने यसमाथी निर्मम भएर प्रश्न उठाउन नागरिक समाज र सञ्चार जगत समेत चुक्दै गएको अनुभुति भएको छ ।
खासगरी, स्थानीय विशेषतामा आधारित रैथाने कृषि व्यवस्था उन्नत बनाउन नसक्दा खानेकुराको वन्दोवस्तमा पराधिन हुन परेको हो। हाम्रो जस्तो प्राकृतिक जैविक श्रोतमा प्रशस्ति भएको देशको स्थानीय विशेषतामा आधारित कृषि नै प्राथामिकताको उत्पादन क्षेत्र हो । यसको बलियो जग बिना कृषि उद्यमको विकास र कृषिको औधोगिकरण कोरा कल्पना मात्र हो । तसर्थ, सबैभन्दा पहिला कृषि उत्पादनलाई बढाउने कुरा नै महत्वपूर्ण खुट्किलो हो । यसरी हेर्दा, बाह्य दवाव र दुष्प्रभावबाट जोगाउँदै आज र भविष्यका सन्ततिको खानेकुराको वन्दोवस्त र दैनिक जिवनका अन्य आवस्यकता पुरा गर्न हाम्रो मौलिक कृषि अझ उन्नत बनाउन सबैको सुझबुझ र सार्थक प्रयत्नहरू महत्वपूर्ण छन्। यसर्थ खेतीपातीको दीर्घकालीन प्रणालीको मार्गचित्र बनाउँदै तत्कालको खाना, रोजगारी र आम्दानी बढाउनका लागि खेतीपातीको बन्दोबस्त गर्न आजैदेखि जुट्नु परेको छ। हाम्रो खानाको वन्दोबस्त गर्ने मौलिक संस्कृतिमा आधारित बोलीचालीमा निर्वाहमुखी भनिने आत्मर्निभर कृषि प्रणाली मुलतः पहाडी भूभाग, पर्यावरण र हावापानीमा आधारित छ। यसका आफ्नै विशिष्ट सम्भावना र सीमाहरू छन। हिमाली क्षेत्र हाम्रो मात्र हैन दक्षिण एसियाकै पानीको मुख्य श्रोत हो भने उच्चकोटीका औषधीजन्य जडिबुटीको अपार भण्डार र पशुपालनका लागि उपयुक्त क्षेत्र पनि हो। जैविक विविधताको भण्डार पहाड र चुरेक्षेत्र फलफूल, तरकारी, बीउ तथा उच्च मुल्यका कृषि उपजको सम्भावना बोकेको क्षेत्र हो । उपत्यका र तराईका समथर मलिला फाँटहरू अन्नबाली, तरकारी र फलफूलका लागि उपयुक्त क्षेत्र भए तापनि बढ्दो बसाइसराइसँगै सहरिकरण र जनसङ्ख्याको उच्च चाप खेपिरहेको
क्षेत्र समेत हो ।
जलवायू परिवर्तनको प्रभावले पानीचक्रमा आएको फेरवदलसँगै यि क्षेत्रको वातावरणीय सन्तुलन र जैविक विबिधता, सबै खल्बलिएर धरासायि हुदै गएका छन् । यि वास्तविकतालाई मध्यनजर गर्दै स्थानीय विशेषता अनुसारका मौलिक प्रविधि उपयोग गर्ने र स्थानीय साधन, श्रोत र सीपको उपयोग हुने पर्यावरण मैत्री कृषि प्रणालीको ढाँचा विकास गर्नु अहिलेको आवश्यकता हो ।
यस अर्थमा, स्थानीय श्रोत साधनमा आधारित हाम्रो परम्परागत एकीकृत खेती प्रणालीलाई उन्नत बनाउने मार्गचित्र नै एउटा मुख्य प्रस्थानविन्दु हो। यसका लागि प्रकृतिसम्मत कृषि प्रणालीका मुलभुत (पर्यावरणीय सन्तुलन, सह–अस्तित्वको सम्मान, प्राकृतिक पोषण चक्रको उपयोग, जनस्वास्थ्यप्रतिको सजगता, सहकार्य, समतामूलक र दिगो समृद्धि जस्ता) मार्गदर्शक सिद्धान्तहरू अवलम्बनका आधारमा स्थानीय साधन, श्रोत र प्रविधिको अधिकतम प्रयोग गरी नेपालको कृषि क्षेत्रलाई जैविक ढाँचामा रूपान्तरण गर्न आवश्यक नीतिगत र संस्थागत व्यवस्था एवम कार्ययोजना बनाउनु पर्नेछ ।
हामीले मुलुकलाई आधारभुत खाद्यवस्तुमा आत्मनिर्भर बनाउने र तुलनात्मक लाभका कृषि उपजको प्रवर्द्धनबाट आयात प्रतिस्थापन, रोजगारी र आम्दानीमा वृद्धि गर्ने उद्देश्यमा केन्द्रित हुन ढिलाई गर्न सक्दैनौ । रासायनिक मल, विषादी र अन्य कृत्रिम रसायन रहित कृषि प्रणालीबाट उत्पादित स्वस्थकर खानेकुराको उपलब्धता र पहुँच बढाउने, स्थानीय विशेषतामा आधारित एकीकृत खेती प्रणाली प्रवर्द्धन गर्ने, श्रोतहरूको पुर्नउत्पादनमा आधारित कम लागतको कृषि प्रणाली अपनाउने र आर्थिक रूपले सबल, सामाजिक न्याय र समानतामा आधारित र दिगो पर्यावरणका सिद्धान्तका आधारमा कृषि क्षेत्रलाई उत्पादनशील र प्रतिस्पर्धी बनाउदै किसान संकृतिको सम्मान बढाउँदै लैजान दिशावोध गर्नु पर्नेछ ।
प्रकृतिसम्मत कृषि पद्धति अपनाउन उत्पादनशील जमिन, दक्ष जनशक्ति र श्रम, लगानी र पुँजीको प्रभावकारी परिचालन गरी माटोको उर्वराशक्तिको व्यवस्थापन, रोग तथा कीरा व्यवस्थापन, बाली वा उत्पादनपछिको प्रशोधन, भण्डारण र बजारीकरणका लागि नियमन एवम प्रमाणीकरण यसका मुल आयामहरू हुन । दिगोपनलाई किसानको खेती गर्ने जमिनको आकार र पहुँचले पनि असर पार्छ । प्रतिकुल अवस्था सहन सक्ने बाली तथा बस्तुभाउका जात विकास गर्ने, आयातित कृषि सामग्रीप्रतिको निर्भरता घटाउदै स्वदेशमा उपलब्ध साधन, श्रोतको प्रभावकारी उपयोग गरी जलवायु जोखिम सम्बोधन र वातावरणीय दिगोपना बढाउने जस्ता उपायहरू प्रवर्द्धन गर्न संक्रमणकालिन, मध्यकालिन र दीर्घकालिन रणनीतिक प्रस्थानविन्दु तय गर्न आवश्यक छ । मुख्यतः उत्पादन र उपभोगका सबै आयामहरूको दिगो प्रवद्र्धनमा जोड दिने स्पष्ट मार्गचित्र बनाउनु पर्नेछ ।
यीसँगै, विश्व व्यवस्था र यसले पारेका सामाजिक आर्थिक र वातावरणीय प्रभावका साथै हाम्रो भौगोलिक तथा वातावरण विशेषतामा रहेको समाज व्यवस्थाको वस्तुनिष्ठ आँकलन गरी खेती प्रणालीका संरचनागत र संस्थागत व्यवस्थाको पुनरावलोकन गरी समसामयिक बनाउन अपरिहार्य भएको छ । यसमा मुख्यत कृषि भूमि वितरण र स्वामित्व, कृषि र वन अन्तरसम्बन्ध, अनुसन्धान, प्रसार, जनशिक्षा, उद्यमशीलता, बजार, स्थानीय अर्थतन्त्र र लगानी सबै भन्दा खड्किएका प्रश्नहरू हुन । किसान वर्गीकरण, कृषि बीमा, मुल्य निर्धारण, मौसमी र छोटो उत्पादन चक्र भएका कृषि उपजको स्थानीय बजार र वितरण प्रणालीको प्रभावकारिता जस्ताका सर्वाधिक चासोका विषय हर ।
अब तत्कालै उठाउनु पर्ने आम सरोकारका सवालहरूबारे छोटो जिज्ञासा राखी,
सामाजिक अभियन्त्रण गर्दै हामीमाथि पछौटेपनको सामाजिक मनोविज्ञान थोपरिरहेको औधोगिक दलाल अर्थ व्यवस्थामा आधारित विश्व दृष्टिकोण र यसैलाई आदर्श बनाएको हाम्रो राजनितिक, प्रशासनिक र बौद्धिक नेतृत्वको कायरता, कपट र स्वार्थमाथि सबै तहबाट निर्मम प्रश्नहरूले प्रहार नगरी हाम्रो अवस्था फेर्ने चेतना र सामूहिक जागरण जाग्रित हुदैन । यसो गर्न हामी सबैले आ–आफ्नो ठाउँबाट तथ्यमा आधारित विवेकसम्मत प्रश्न उठाउने आँट गर्नु पर्छ। यस्ता प्रश्नले मात्र कुम्भकर्ण भै निदाएको सामाजिक चेतना जाग्रित हुन्छ । यस्तो चेतना जगाउने भूमिकाको अग्रपंक्तिमा नागरिक समाज र सञ्चार जगत रहेको छ ।
खाना र खेतीपातीका समसामयिक प्रश्न उठाउने हाम्रो साझा जिम्मेवारी हो । यो जिम्मेवारीको हामी सबैले बोध गरौं । त्यसका लागि सोधखोज गरौं । यस्ता प्रश्न उठाउन हामीले के गर्न सक्छौ ? आउनुहोस आज यसैका वरिपरि गम्भीर बहस गरौं ।
जाँदाजादे, आजको यो बसाईमा यी र यस्ता प्रश्न आफूलाई समेत सोध्नु हुन अनुरोध गर्दै यहाँहरू सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छौं ।
■ हावा, पानी र खाना नभए हामी कति समय बाँच्न सक्छौ ?
■ खेतीपातीको अन्तर्य के हो ?
■ हाम्रो खानाको श्रोत के हो ?
■ के मानिसले खेती नगरे खान पाउँछ ?
■ किसानले खेती किन गर्छ ?
■ किसानले खेती नगरे हाम्रो खाना कहाँबाट आउँछ ?
● के माटो, हावापानी, मल र बीउ बिना खेती गर्न सकिन्छ ?
■ के रसायन र विषादीको प्रयोग नगरे खेती हुदैन ?
ऐक्यवद्धता सहित
खाद्यकालागि कृषि अभियान र साझेदारहरूको तर्फबाट ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close