कृषि प्रविधि

कसरी फाइदालिने मौरीजन्य उत्पादनबाट

मौरीपालनबाट महलगायत मैन, शाही खुराक, कुट, खोटो, मौरीविष, प्याकेज मौरीगोलाजस्ता उपजहरू स कलन गरी आय आर्जन लिन सकिन्छ । अघिल्लो सत्रमा महको बारेमा छलफल गरिएको हुँदा यस सत्रमा अन्य मौरीजन्य उत्पादनको बारेमा चर्चा गरिन्छ ।

मैन ः
कर्मी मौरीको पेटको तल्लो भागमा चार जोडी मैनग्रन्थि हुन्छन् । प्राय १२ देखि १८ दिन उमेर पुगेका कर्मी मौरीको मैनगन्थि सक्रिय हुन्छन् । मैनग्रन्थिसँगै भएका मैन तख्ताहरूमा मैन रसाई हावाको सम्पर्कमा आउनाले कडा भई मैनमा परिणत हुन्छ । मौरीले खुट्टामा रहेको पराग दाबिलोको सहायताले मैन उप्काई बङ् गारामा पुरÞ्याउँछन् र चपाएर यसमा यल मिसाई नरम पारी चाका तथा कोष निर्माण गर्ने काम वा अन्य कार्यजस्तै मह, छाउराकोष टाल्ने कार्य आदिमा प्रयोग गर्दछन् । यो फिका सेतोदेखि फिक्का पहेँलो हुन्छ । पुरानो भएका चाकाहरू ध्वाँसे रङमा परिणत हुन्छन् । मौरी मैन ६१ देखि ६४०से. को तापक्रममा पग्लिन्छ र धेरै चिसोमा फुटेर धुलिन्छ ।
मह काढ्दा महचाकाको ढक्कन र मौरीले प्रयोग गरेका पुराना चाकाहरूलाई प्रशोधन गरी मैन उत्पादन गरिन्छ ।

मैन प्रशोधन गर्ने तरिका ः
परम्परागत घारबाट मह काढ्ने बेलामा काटिएका चाकाहरू, गृहत्याग गरेका घारका चाकाहरू, जङ्गली मौरीहरूले छोडेका चाकाहरू तथा जङ्गली मौरीको मह काढ्दा आएका चाकाहरू सङ्कलन गर्न सकिन्छ । आधुनिक मौरीपालनमा मह काढ्दा आएका मैन टुक्राहरू तथा पुराना चाकाहरू सङ्कलन गरी प्लास्टिकको भाँडाभित्र वा प्लास्टिकको थैलोमा हावा नछिर्ने गरी राख्न सकिन्छ । यसरी संकलित चाकाहरूलाई निम नबमोजिम प्रशोधन गरी शुद्ध मैन उत्पादन गर्न सकिन्छ ।
.
संकलित पुराना चाकाहरूलाई ससाना टुक्रा बनाई सफा गरी २४ घण्टासम्म पानीमा भिजाउने । उक्त भिजाएका चाकालाई पुनः सफा गर्ने ।
सफा चाकालाई डेक्चीमा खन्याई चाकाका टुक्राहरू भएको तहसम्म पानीमा डुबाई तताउने । पग्लिन थालेको मैनलाई लगातार चलाउँदै सबै पगाल्ने ।
पग्लेको मैनलाई सफा भाँडोमाथि कपडाको वा जुटको बोरा राखी छान्ने ।
जुटको बोरा वा कपडाको थैलालाई दुईवटा काठको लठ्ठीद्वारा निचोर्ने ।
जुटको बोरा वा कपडामा रहेको अवशेषलाई फ्याँकिदिने ।
छानेर आएको मैनको झोललाई सुरक्षितसाथ कोठाभित्र वा छहारीमा राख्ने । उक्त मैनलाई २४ घण्टापछि जमेको मैनको ढिक्का निकाल्ने । .
मैनको ढिक्काको पिँधमा रहेका अन्य अवशेषलाई धारिलो चक्कुद्वारा हटाउने ।
सफा र सुख्खा मैनको ढिक्कालाई प्लास्टिकको थैलोमा सुरक्षित सफा कोठामा राख्ने ।

ध्यान दिनुपर्ने कुरा ः
मैन अति अम्लीय हुने भएकाले प्रशोधन कार्यमा तामा, पित्तल, जस्ता वा फलामका भाँडाहरू प्रयोग गर्नु हुँदैन
मैन तयार गर्दा सिलेभर, स्टिल, टिन वा प्लास्टिकको फराकिलो मुख भएको भाँडो प्रयोग गर्ने । पगालेको मैनलाई तुरुन्तै चिसो पारेमा मैन ससानो टुक्रा हुन्छ, त्यसैले आफैँ चिसो हुन दिनुपर्दछ ।
मैन धेरै बेरसम्म तताउनु हुँदैन । धेरैबेरसम्म तताएमा मैनको बास्ना र रङमा फरक आउन सक्छ ।
मैन तताउँदा मैनलाई ठूलो आगो लगाउनु हुँदैन र मैनलाई उम्लिन दिनु हुँदैन ।

कुटः
सङ्कलित मैन वा प्रशोधित मैनलाई खुल्ला ठाउँमा भण्डारण गरेमा मैनपुतलीले नोक्सान गर्न सक्छ। तसर्थ प्याक गरी सुरक्षित ठाउँमा राख्नुपर्छ ।
मौरीपालनबाट प्राप्त हुने कुट फुलहरूको पुंकेशरबाट प्राप्त हुने पराग कण हो, जुन प्रोटिनयुक्त खाद्य पदार्थ हो । मौरीलाई छाउरा हुर्काउन कुटको अति आवश्यकता हुन्छं । छाउराहरू हुर्काउने याममा गोलाको झन्डै ५० प्रतिशत चरनमा जाने मौरीहरूले कुट सङ्कलन गर्ने गर्दछन् । कुट बिहान १०–११ बजेसम्म सङ्कलन गर्ने गर्दछन् किनकि सो समयमा धुलो पराग ओसिलो हुने भएकाले सङ्कलन गर्न सजिलो हुन्छ । एक पटकमा मौरीले १० देखि १९ मि.ग्रा. सम्म कुटको भारी बोकेर ल्याउँदछ । मौरीले परागकणहरू मुख, खुट्टा र शरीरको रौँको सहायताले जम्मा गर्छ र खुकुलो परागकणलाई यल र पुष्परससँग मिसाई खँदिलो र कसिलो पारी पछिल्लो खुट्टाको परागटोकरीमा जम्मा गरेर ल्याई कोषभित्र आफैँ राख्ने काम गर्दछन् ।
मौरीपालकले कुटप्रवाहको मौसममा मौरीलाई आवश्यक पर्नेभन्दा बढी भएको कुट (पराग) सङ्कलन गर्ने प्रक्रियालाई कुट (पराग) उत्पादन भनिन्छ । कुटसङ्कलन गर्दा मौरीपालकले गोलामा छाउरा उत्पादनमा असर नहुने गरी सङ्कलन गर्नुपर्दछ । कुटसङ्कलन गर्नका लागि निम्नबमोजिमको विधि अपनाउन सकिन्छ। कुटको पासो (पोलेन ट्राप) प्रयोगले कुटसङ्कलन गरिन्छ । यस पासोलाई घारको प्रवेशद्वारमा राखिन्छ जसले कुट बोकेर आउने मौरीहरू घारभित्र पस्न खोज्दा छिर्न गाहो भई केही कुटको डल्लो पासोभित्र खसेर जम्मा हुन जान्छ ।
गर्दा कुटसङ्कलन गर्नका लागि कुटप्रवाहको मौसम हुनुपर्दछ । लगातार एउटै घारमा कुटपासो प्रयोग गर्नु हुँदैन ।.
नोट ः मौरीगोलावृद्धि, वंशवृद्धि र महउत्पादन गर्ने उद्देश्यले तयार गरिएको गोलामा कुटपासो प्रयोग गर्न उपयुक्त मानिँदैन ।

कुटभण्डार ः
जम्मा गरेको कुटलाई छहारीमा वा कोठाभित्र सुकाउनुपर्दछ ।
कुट सुख्खा भई सकेपछि प्लास्टिकको प्याकेट वा फुड ग्रेड भाँडोमा हावा नछिर्ने गरी प्याक गर्ने र सुख्खा शीतल ठाउँमा राख्ने ।
नोट ः कुटमा प्रशस्त प्रोटिन हुने हुँदा मानिसले यसलाई प्रोटिनको विकल्पमा प्रयोग गर्न सक्दछ ।

खोटो (प्रोपोलिस) र चोप ः
मौरीले आफ्नो गोलालाई प्राकृतिक शत्रुबाट बचाउन र गोलामा तापक्रम व्यवस्थापन गर्नको लागि रूखका बोक्रा, पालुवाहरूमा पाइने चोपलाई आफ्नो परागडेलीमा सङ्कलन गरी ल्याउने अर्ध ठोस च्यापच्यापे पदार्थलाई मौरी खोटो भनिन्छ ।
मौरीले चर्केको घार, चाका मर्मत गर्न र चौकोसहरूलाई हल्लिन नदिन खोटो प्रयोग गर्दछन् । विशेषतः मेलिफेरा जातको मौरीले मौरी खोटोको बढी प्रयोग गरेको पाइन्छ ।
मौरीखोटोमा चोप, मैन, वाष्पीय तेल, कुट, भिटामिन, खनिज पदार्थ र बिरुवाको रसायन फ्लेभोनाइड हुन्छ। खोटोमा भएको वाष्पीय तेलले घारभित्र एयरफ्रेसनरको काम पनि गर्दछ । मौरीपालकले बढी चोपप्रवाह हुने बेलामा घारऔजारको सहायताबाट वा चोपपासो थापेर खोटो सङ्कलन गर्न सकिन्छ ।
खोटोमा प्रतिरोधात्मक (एन्टिबायोटिक) गुण भएकाले यसलाई मानिसहरूले औषधीको रूपमा प्रयोग गर्न सक्छन् ।

शाही खुराक ः
यो कर्मी मौरीको शिरमा भएको शिरग्रन्थिबाट रसाउने तरल पदार्थ हो । शाही खुराक सेतो क्रिमजस्तै, कडा स्वाद भएको पदार्थ हो,जसमा पानी, प्रोटिन, लिपिड र खनिज नुनहरूका साथै सबै अमिनो एसिड, इन्जाइम, भिटामिन आदि पाइन्छन् । मौरीको लार्भा अवस्थाभर शाही खुराक खाएकै कारण निशेचित फुलबाट जन्मेका छाउराहरू रानु मौरी र तीन दिनमात्र अड्कलिएको मात्रामा खाएका छाउराहरूबाट कर्मी मौरी जन्मन्छ । तसर्थ शाही खुराक पौष्टिक र शक्तिवर्धक हुन्छ । एक रानुकोषभित्र करिब २५० मि.ग्रा. मात्र शाही खुराक हुन्छ । मौरीपालकले शाही खुराक उत्पादन गर्नका लागि व्यावसायिक रूपमा मौरीपालन गर्नुका साथै प्राविधिक दक्षता हासिल गर्नुपर्ने हुन्छ ।

मौरीविष ः
कर्मी मौरीको पेटको अन्तिम खण्डमा विषग्रन्थि हुन्छ । करिब १८ दिन उमेर पुगेपछि विषग्रन्थि सक्रिय हुन थाल्छ । विषथैलीमा तितो स्वाद भएको बास्ना आउने तेजाबजस्तै पोल्ने सफा तरल पदार्थ हुन्छ, यसैलाई सौरीविष भनिन्छ । मौरीले गोलाको रक्षाका लागि आफ्ना शत्रुमाथि खिलद्वारा विषको प्रयोग गर्दछन् । एउटा मौरीले आफ्नो जीवनकालमा करिब ०.५ मि.ग्रा. विष सञ्चय गर्दछ । मानवजीवनमा मौरीविषको पनि ठूलो महत्व छ। मौरीविषलाई बाथ रोगको, नशासम्बन्धी रोगका लागि प्रयोग गर्ने गरिन्छ । हालका दिनमा आएर नेपालमा पनि मौरीलाई टोकाएर उपचार गर्ने पद्धति यदाकदा देखिन्छ ।

प्याकेज मौरीगोला उत्पादन ः
मौरीपालकले बिक्री गर्न तथा आफ्नै प्रयोजनका लागि मौरीखर्कमा एउटा रानुसँग एक के.जी. तौल बराबरको (५ फ्रेम) कर्मी मौरीसहित तयार गरिने बिउ गोला – न्युक्लियस) लाई प्याकेज मौरीगोला भनिन्छ ।
प्याकेज मौरीगोला उत्पादनमा छाउरा र चाका चौकोसहरू राखिँदैन । खाली कर्मी मौरी र फुल पार्ने रानु मौरी हुन्छ जसलाई प्याकेज मौरी पिंजडाभित्र राखेर सजिलैसित टाढा ओसार्न सकिन्छ । प्याकेज मौरी पिंजडा काठ र जालीले बनेको हुन्छ र यो हलका तौल भएको, बलियो र हावा आवत जावत बढी हुने किसिमको हुन्छ ।

उत्पादन गर्ने तरिका ः.
बिक्री बितरणको लागि बलियो गोलाको केही छाउरा चाकाहरू झिकेर पिँजडाभित्र मौरीहरू भारिन्छ र यसबाट भर्खरका कलिला मौरीहरू बढी पर्दछन् ।
प्याकेज पिँजडाभित्र (अन्दाजी पाँच फ्रेम दशहजार बराबरको मौरी) र फुल पार्ने रानु हुन्छ, जसको तौल सरदर १ के. जी की हुन्छ ।.
प्याकेज पिंजडाको बिचमा चिनी चास्नी राख्ने ठाउँ पनि हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close