समाचार

चुरे आसपासका नदी किनारमा तटवन्धमा बाँध्न व्यस्त स्थानीयहरू

काठमाडौं भाद्र ११, नदी किनारमा तटवन्धले खेत र वस्ती सुरक्षित राख्न मद्दत गर्दछ
चुरे उत्थानशील आयोजनाले हालसम्म नदी किनार स्थिरिकरण गर्नका लागि ९६ वटा तटवन्ध बनाएको छ, जसले ४० हजारभन्दा बढि मानिसलाई फाइदा पु¥याएको छ ।

सिन्धुलीको भताही खोलाको किनारमा फलामको ग्याबियन तारभित्र ढुङ्गा हाल्ने काम उत्साहपूर्वक गरिरहेकी छिन्, पदम कुमारी मगर सुख्खा याममा यो ‘खोला’मा ढुंगा र बालुवा मात्र हुन्छन् । त्यसको छेउमा तटबन्ध लगाउन करिब दुई दर्जन मानिस सक्रिय छन् ।
“हरेक वर्ष, वर्षामा यो खोलामा बाढी आउँछ र नजिकैको क्षेत्रहरूमा पस्छ । मेरो खेत यो खोलाको एकापट्टि छ । मेरी दिदीको खेत अर्को पट्टि छ । हरेक वर्ष बाढीले ती खेत बगाउँछ । तपाईंले हामीलाई तार जाली पनि दिनुभो । काम गर्ने मौका पनि दिनुभो । हामीले तटवन्ध पनि पायौँ, काम पनि पायौं, त्यसैले हामी खुशी छौँ । अब खेत जोगिएका छन् र खान पाइएला भनेर धेरै आश लागेको छ,’’ मगर भन्छिन् ।
पदम कुमारी मगर कृषक हुन् र श्रीमान्, दुई छोरा र एक छोरी सहितको पाँच जनाको उनको परिवारको जीविकोपार्जनको मुख्यस्रोत खेती हो । हाल खोला किनारको एक छेउमा रहेको उनको खेतमा मकै छन्, र उनी अरू बेला धान र दाल पनि रोप्छिन् । हरेक वर्ष, उनी र उनको परिवार बाढीले खेतबारीको सबै उत्पादन लैजाला र खानको लागि केही बाँकी नछोड्ला भनेर डराउँछन् ।
“पोहोर साल मेरी दिदीको खेतमा बाढी पसेर खेतै लगेको थियो । मेरो भाञ्जाले बाँध बनाएर खेत जोगाउन निकै मिहिनेत गरेका थिए तर केही काम लागेन । त्यसैले अब चुरे उत्थानशील आयोजनाको सहयोगमा बनेको यो तटवन्धले काम गर्छ भन्ने आशा राखेका छौं । यसले हामीलाई हाम्रो खेतीबाट जीविकोपार्जन गर्न मद्दत गर्नेछ,’’ उनी भन्छिन् ।
चुरे क्षेत्रमा बसोबास गर्ने मानिसहरूको जलवायू उत्थानशीलतामा सुधार गर्ने उद्देश्यले चुरे उत्थानशील आयोजनाले नदी किनारा स्थिरीकरण संरचनाहरू निर्माण गरिरहेको छ । हालसम्म आयोजनाले कोशी, मधेश, बाग्मती प्रदेशमा ९६ वटा तटवन्धहरू निर्माण गरिसकेको छ, जसबाट ४० हजार भन्दा बढि मानिसलाई फाइदा पुगेको छ ।
यी तटबन्धहरू प्रायः खहरे खोलाको छेउमा बनाइन्छन्, जुन सख्खा याममा ढुङ्गा, गिट्टी र बालुवाले भरिएका हुन्छन् । वर्षामा एक्कासी पानी पसेर यी खोलामा बाढी आउँछ । हिमालमा उत्पन्न भएर वर्षैभरी बग्ने नदी जस्तो नभएर यी खहरे खोला अप्रत्याशित हुन्छन्, यिनीहरूको मार्ग र मात्रा प्रत्येक वर्ष फरक हुन्छ । वर्षामा प्रायः यिनीहरूले बाटो बदलेर, कटान गरेर नजिकैका घर, वस्ती, संरचना र खेतहरू नष्ट गर्छन् ।
सिन्धुलीको सिस्ने खहरे खोला त्यस्को एउटा उदाहरण हो । खरको छानो भएका माटोका घरको एउटा आदिवासी जनजाती बाहुल्य भएको वस्तीको बीचबाट सिस्ने खहरे बग्छ । विगतमा, यो खोलाले धेरै घरपरिवारलाई विस्थापित गरेको थियो, जसमध्ये केही बसाइँ सरेर गाउँको पुछारमा गए भने केहीले वस्ती पूरै छोडेर तराई गए । यस वर्ष, चुरे उत्थानशील आयोजनाले खोलाको छेउमा तटबन्ध निर्माण गर्न मद्दत गरेको छ, जसले ३० घरलाई सुरक्षित गरेको छ । यहाँका बासिन्दा प्रेमबहादुर ठोकरले भविष्यमा बसाइँ सर्नु नपर्ने आशा राखेका छन् ।
“विगतमा खोलामा बाढी आउँदा हामी राती सुत्दैन थियौं । हामी रातभरी किनारमा गस्ती गथ्यौं, टर्चलाइट बालेरर’’ ठोकर भन्छन् । “तर यो तटवन्धले हामीलाई राहत दिएको छ । यो वर्ष चाहिँ सुत्न पाइएला कि’’ ।
चुरे उत्थानशील आयोजनाले प्रायः अति जोखिममा परेका समुदायहरूलाई बाढीलगायत जलवायू परिवर्तनका प्रतिकूल प्रभावहरूबाट जोगाउन काम गर्छ । तीमध्ये एक हुन्, सिस्ने खहरेको किनारमा बस्ने दिलमाया वाइबा । उनी आफ्नो थोरै जमिनमा खेती गरेर, अरूको खेतमा ज्याला मजदुरी गरेर, र बाख्रा पालेर जीविकोपार्जन गर्छिन् । यिनै क्रियाकलापबाट उनले छोराछोरी ÷ आफूसँगै बस्ने अपाङ्गता भएकी दिदीको लालन पालन पनि गर्छिन् । हरेक वर्ष वर्षामा बाढीले खोलाको किनार भत्काएर घरमा छिर्ने डर उनलाई हुन्छ ।
“यस वर्ष, हामीले धेरैस्रोतहरूबाट रकम उठाएर यो तटवन्ध निर्माण गरेका छौं । चुरे उत्थानशील आयोजनाले हामीलाई यस तटवन्धको एउटा खण्ड बनाउन मद्दत ग¥यो, जसले पक्कै पनि हाम्रा घरहरू ध्वस्त हुनबाट जोगाउनेछ,’’ उनी भन्छिन् . “महिलाले यो पर्खाल बनाए । महिला र पुरुष मिलेर यसमा योगदान गरे । कत्ति राम्रो, हैन त ?“ उनी सोध्छिन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close