गाजर खेती गर्ने तरिका
परिचयः
गाजर जरे परिवारको यो एक महत्वपूर्ण बाली हो । यसको उत्पत्ति मध्ये एशियाबाट भएको मानिन्छ । यसको पहेंलो, सुन्तला रङ्गका जरा काँचै वा अन्य तरकारीसित मिसाई पकाउन सकिन्छ । गाजरमा प्रशस्त भिटामिनहरू हुन्छन् । यसलाई त भिटामिन एको प्रमुख स्रोतको रुपमा लिइन्छ । भिटामिन ए. बाहेक यसमा भिटामिन बी.सी., के आदि पनि प्रशस्त छन् । यसबाहेक क्याल्सियम, फसफोरस, फलाम जस्ता खनिज पनि छन् ।
हावापानी ः
गाजर खेतीको लागि १८ डि.से. देखि २० डि.से. सम्मको तापक्रम उपयुक्त हुन्छ राम्रो जरा विकास २० डि.से. मा हुन्छ । अधिक तापक्रममा गाजरको जराको रङ्ग हरियो हुन थाल्दछ । कम तापक्रममा जरा ढिलो गरी बढ्छ । यस्तोमा गाजर लामो वा छोटो हुन्छ । यसको लागि नरम खुकुलो माटो आवश्यक पर्दछ । यो प्रकाश मनपराउने बिरुवा भएको हुँदा अन्य बालीको छायाँमा फस्टाउन सक्दैन ।
वानस्पतिक विवरण तथा जात पहिचान :
गाजरको विरुवाले पहिले जरा बनाउँदछ । त्यसपछि हुकु निस्कन्छ र बीउ लाग्दछ । साना मसिना बीउ आकारम जीराजस्ता तर भुस भएका हुन्छन् ।
बाली चक्र र लगाउने समय :
काठमाडौं उपत्यकामा यसको खेती बाह्रै महिना गरिन्छ। यसको परम्परागत समय भने उच्च पहाडमा जेष्ठ साउनमा रोपी साउन असोजमा उखेलिन्छ । मध्य पहाडमा यसलाई भाद्र असोजमा लगाई मंसिर पुसमा बाली लिइन्छ । तराई क्षेत्रमा यसलाई असोज कार्तिकमा लगाई मसिर माघमा उखेलिन्छ ।
जग्गा तयारी तथा मलखाद :
गाजर खेतीको लागि जमिन गहिरो गरी खनेको हुनु आवश्यक छ । माटोको अम्लीयपना ६.५ जति हुनुपर्छ । ज्यादै अम्लीय जमिनमा जरा बढ्न सक्दैन। पाकेको गोबर मल वा कम्पोष्ट एक टन प्रतिरोपनी हाल्नुपर्छ गाजरमा गोबरको प्रयोगबाटे जरा विभाजित हुन्छ । रासायनिक मलको हकमा ५ किलो डि.ए.पी. र २ किलो म्युरेट अफ पोटास जग्गा तयारीमा हालिन्छ ।
बीउ रोपण :
गाजरको बीउ ढिलो गरी उम्रन्छ। यस्तो ढिलोपनलाई छोट्याउन बीउलाई पानीमा केही घण्टा भिजाएर रोपिन्छ । यसलाई रामरी तयार पारेको जमिनमा लाईनमा वा छरेर रोपिन्छ । लाईनमा रोप्दा एक लाईनदेखि अर्को लाईनको दुरी ४५ से.मि. राखिन्छ। लाईनमा १० से.मि. को फरकमा पर्ने गरी बीउ खसालिन्छ। एक रोपनी जग्गामा २५०(३०० ग्राम बीउ लाग्दछ। माटोको उपयुक्त चिस्यानमा यो एक हप्तामा उम्रन्छ ।
गोडमेल र सिंचाई :
गाजर उमेपछि गोडमेल, झारपातको नियन्त्रण र सिंचाईको प्रबन्ध गरिनु आवश्यक छ । रोपेको बीउ सिफारिश गरिएको दुरी भन्दा बाक्लो छ भने बेडाउन अति आवश्यक छ । उम्रेका बेर्नाहरू शुरुको अवस्थामा ढिलो गरी बदछन् र यस अवस्थामा झारपातले छोप्नेहुँदा तिनको नियन्त्रण गर्नु आवश्यक छ। गोडमेल गरेर झारपातको नियन्त्रण गरिन्छ । माटोको चिस्यान हेरी १(२ पटकसम्म सिंचाई दिनु लाभदायक छ ।
बाली संरक्षण :
गाजरमा आक्रमण गरी हानीगर्ने कीराहरूमा लाही पात खाने लाभे आदि पर्दछन् । यसको नियन्त्रणको लागि घरेलु विषादी वा नुमान छर्कन सिफारिश गरिन्छ ।
रोगहरूमा गाजर बालीमा भाइरस रोग, जरा कहिने रोग र पातको थोप्ले रोग लाग्दछ। भाइरस रोगको रोकथामको लागि त्यो रोग सार्ने कीरा (भेक्टर(लाही वा अन्य ) को नियन्त्रण गर्न जरुरी छ।
बाली तयार तथा फसल उत्पादन :
जातको आकार र तयार हुने अवधि हेरी गाजरको बाली उखेलिन्छन् । यो प्रति रोपनी ६००(७०० किलोसम्म फल्दछ ।
प्रशोधन, भण्डारण तथा बजार व्यवस्था :
उखेलेर गाजर राम्ररी धोई पखाली मुठा पारी बेचिन्छन् । ठूलो परिमाणमा पात काटी जराहरू काठको टोकरी वा बाकसमा बन्द गरी ढुवानी गरिन्छ । गाजरलाई उपयुक्त वातावरणमा लामो अवधिसम्म सुरक्षित राख्न सकिन्छ । शून्य डि.से.र ९३(९८ प्रतिशत सापेक्षिक आर्द्रतामा यो ६ महिनासम्म भण्डारण गर्न सकिन्छ ।
स्रोतः तरकारीबाली विकास केन्द्र, खुमलटार, ललितपुर