कृषि विशेषसमाचार

जनताको ज्यूधनको सुरक्षा गर्न सरकारसँग आग्रह

काठमाडौं असोज १४, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का अध्यक्ष चित्रबहादुर श्रेष्ठले प्रेस विज्ञाप्ति प्रकाशित गरि देशभर परेको अविरल वर्षाको कारण भएको क्षतिबाट आफ्नो संगठन स्तब्ध भएको जनाएको छ ।
विज्ञाप्तिमा भनिएको छ, यही मिति २०८१ असोज ९ देखि १२ गतेसम्म भएको अविरल वर्षाको कारण देशका विभिन्न ठाउँमा जनधनको ठुलो क्षति भएको छ । हालसम्म १९२ जनाभन्दा धेरैले जीवन गुमाएका छन्, कैयौं घाइते र वेपत्ता छन् । कैयौं जनताले आफ्नो घर र परिवारका सदस्यहरू गुमाएका छन् । हजारौं किसानहरूले आफ्नो घरगोठ, खेतबारी, चौपाया, पशुपन्छी र खेतीबाली गुमाएका छन् भने अन्य भौतिक पूर्वाधारहरू नष्ट भएका छन् । घर डुवानमा पर्दा नागरिकता, पासपोर्ट, शैक्षिक प्रमाण–पत्र लगायतका जनताका महत्वपूर्ण कागजातहरू नष्ट भएका छन्, विद्यार्थीहरूले पाठ्यपुस्तक र अध्ययन सामग्री गुमाएका छन् । धेरैको बिचल्ली भएको छ । दुःखको यो घडीमा हामी अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)को तर्फबाट गहिरो दुःख व्यक्त गर्दै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र वेपत्ताहरूको जीवितै उद्दार होस् भनी कामना गर्दछौं । विज्ञाप्तिमा जनाएको छ ।
भीषण वर्षा र जोखिमको पूर्वसूचनाको बाबजुद पनि नेपाल सरकारले कुनै पूर्वतयारी गरेन । राष्ट्रको ढुकुटी खर्चेर जम्बो टोलीसहित अमेरिका पुगेका प्रधानमन्त्रीले सिंगो देश बाढी–पहिरोको चपेटामा परेर जनता दुःखमा पर्दासमेत कुनै पहल गर्नुको सट्टा ‘हिमालमा गैंडा, हात्ती र मयुर पाइने’ भद्दा मजाक सहितको प्रहसनमा समय कटाइरहे । कार्यवाहक प्रधानमन्त्री र रक्षामन्त्री कुनै पत्तो भएन । विपद्को घडीमा सुरक्षा निकाय परिचालन गर्नुपर्ने मुख्य जिम्मेवारी बोकेका गृहमन्त्रीले कहिले जिउँदै मानिसहरूलाई मरिसकेको घोषणा गर्छन् त कहिले जनधनको क्षति कम भएको भन्दै नागरिक र जनधनको क्षतिप्रति निर्दयी टिप्पणी गर्छन् । हामी नेपाल सरकार र प्रदेश सरकारहरूको प्राकृतिक प्रकोपको पूर्वसूचनाप्रति मुकदर्शक बन्ने र जनताको जिउधनको क्षति रोक्न कुनै पहल नगर्ने उदासीन गैर–जिम्मेवारीपना तथा सरकारमा बसेर उद्धार र राहतमार्फत जनताको घाउमा मलम लगाउनुको सट्टा नूनचुक छर्केर मजाक गर्ने कार्यको घोर निन्दा तथा भत्सर्ना गर्दछौं ।
विज्ञाप्तिमा नेपाल सरकार समक्ष भविष्यमा यस्तो अवस्था आउन नदिन आवश्यक पूर्वतयारी गर्न, विकासको मोडेलबारे पर्याप्त छलफल गरी पर्यावरणमैत्री विकासको कार्यक्रम र कार्ययोजना अघि सार्न र बाढीबाट पीडित जनतालाई तत्काल उद्दार गर्न, प्रभावित जनतालाई शुद्ध खानेपानी, पौष्टिक खाना, अस्थायी आवास र आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन र घर, खेतबारी, पशुपन्छी, बालीनाली तथा पूर्वाधार क्षति भोगेका किसानहरू र आम जनसमुदायलाई तत्काल उचित क्षतिपूर्तिको व्यवस्था गर्न जोडदार माग गर्दछौं । साथै, दुःखमा परेका जनताको उद्दारमा खटिएका आम नागरिक र जनसंगठनका नेता–कार्यकर्तालाई हार्दिक आभार प्रकट गर्दै अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) र यसमा आवद्ध २४ वटै विषयगत किसान संघहरूका सबै तहका नेता–कार्यकर्ताहरूलाई उद्दार तथा राहतको कार्यमा जुट्न हार्दिक अपिल गर्दछौं ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close