कृषि विशेषसमाचार

४ संगठनले संयुक्त रुपमा प्रेस विज्ञाप्ति प्रकाशित दुःख व्यक्त

काठमाडौं असोज २१ गते अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ)का अध्यक्ष जगतबहादुर सिम्खडा, नेपाल दलित मुक्ति का अध्यक्ष दलजित श्रीपाली, अखिल नेपाल सुकुम्बासी संघका अध्यक्ष अमर परियारले ४ संगठनले संयुक्त रुपमा प्रेस विज्ञाप्ति प्रकाशित गरी असोज ९ गते देखि परेको अविरल वर्षाको कारण भएको जनधनको क्षति भएकोमा दुःख व्यक्त गरेका छन् ।
विज्ञाप्तिमा भनिएको छ । यही मिति २०८१ असोज ९ देखि १२ गतेसम्म भएको अविरल वर्षाको कारण देशका विभिन्न ठाउँमा २४२ जनाले जीवन गुमाएका कैयौं नागरिक घाइते र वेपत्ता भएका छन् । भौतिक पूर्वाधारहरूसहित २५ अरब रूपैयाँभन्दा धेरैको आर्थिक क्षति भएको छ । सयौं नागरिकले आफ्ना परिवारका सदस्यहरू, घर, लत्ताकपडा, भाँडाकुँडा, गोठखोर, खेतबारी, चौपाया, पशुपन्छी, खेतीबाली र रोजगारी गुमाएका छन् । घर डुवानमा पर्दा जनसमुदायका नागरिकता, लालपुर्जा, पासपोर्ट, शैक्षिक प्रमाण–पत्र लगायतका सरकारी र अन्य महत्वपूर्ण कागज–पत्रहरूका साथै विद्यार्थीहरूका पाठ्यपुस्तक र अध्ययन सामग्रीहरू नष्ट भएका छन् । बाढी प्रभावित क्षेत्रहरूमा फोहोरमैला छरपष्ट छ, स्वच्छ पिउने पानीको अभाव छ, स्वास्थ्य समस्याहरू उत्पन्न हुँदै गएका छन्, महामारी फैलन सक्ने खतरा छ । प्राकृतिक विपद्को यो घडीमा हामी अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), नेपाल दलित मुक्ति मोर्चा र अखिल नेपाल सुकुम्बासी संघको तर्फबाट गहिरो दुःख व्यक्त गर्दै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र बेपत्ता नागरिकहरूको शीघ्राति शीघ्र उद्धारको कामना गर्दछौं ।
देशभर अतिवृष्टि र जोखिमको पूर्वसूचनाको बाबजुद नेपाल सरकारले कुनै पूर्वतयारी नगर्ने, बाढी आई सकेपछि समेत ठोस योजनासहित उद्धारका लागि कुनै तदारुकता नदेखाउने र मुकदर्शक बन्ने गैरजिम्मेवारीपनले यो सरकार नेपाली जनताको सेवामा नरहेको, बरु आफ्ना निहित स्वार्थ पूरा गर्न र आफू निकट दलाल पुँजीपतिहरू तथा विचौलियाहरूको हितरक्षाका लागि मात्र बनेको कुरा स्वतः पुष्टि भएको छ । तसर्थ हामी नेकपा (माओवादी केन्द्र) निकट ४ जनवर्गीय संगठनहरू नेपाल सरकारलाई जिम्मेवार एवम् नागरिकहरूप्रति उत्तरदायी बन्न गम्भीर ध्यानाकर्षण गराउँदै निम्न मागहरू प्रस्तुत गर्दछौं र तिनलाई अविलम्ब पूरा गर्न जोडदार माग गर्दछौ विज्ञाप्तिमा उल्लेख छ ।
१. बाढी प्रभावित क्षेत्रमा पोषिलो खाना, स्वच्छ खानेपानी, लत्ताकपडा, अस्थायी आवास, अस्थायी शौचालय लगायतका आधारभूत आवश्यकता पूर्ति गर्ने राहतका सामग्रीहरू निष्पक्षरूपमा तत्काल उपलब्ध गराइयोस् ।
२. प्रभावित क्षेत्रहरूमा संक्रामक रोगहरू फैलन नदिन तत्काल स्वास्थ्य शिविरहरू सञ्चालन गरियोस् ।
३. भविष्यका दिनमा यस्ता प्रकोपहरू आउन नदिन आवश्यक पूर्वतयारी गर्न र विकासको मोडलबारे व्यापक छलफल चलाई पर्यावरणमैत्री विकासको कार्यक्रम र कार्ययोजना अघि सारियोस् ।
४. घर, गोठखोर, खेतबारी, पशुपन्छी, बालीनाली, बिउबिजन, कुलो, बाँध, सीतभण्डार, दुध चिस्यान केन्द्र, तरकारी संकलन केन्द्र आदि पूर्वाधारको क्षति भोगेका किसानहरू र आम जनसमुदायलाई तत्काल उचित क्षतिपूर्तिको व्यवस्था गरियोस् र पूर्वाधारहरू पूनर्निमाण गरियोस् ।
५. मृतकलाई दिने भनिएको क्षतिपूर्ति तत्काल उपलब्ध गराइयोस् । घाइतेहरूको निःशुल्क स्वास्थ्योपचार गराइयोस् ।
६. दशैं, तिहार, म्हपूजा, छठ, नेपाल सम्वत, ईद जस्ता प्रमुख चाडवाडको मुखमा खाद्यान्नलगायतका उपभोग्य सामग्रीहरू, यातायात तथा हवाई टिकटको अस्वभाविक रूपमा मूल्यवृद्धि गरिएको छ । बजार अनुगमन कडा पारियोस् । तत्काल महँगी नियन्त्रण गरियोस् । कालाबजारी गर्ने र अस्वभाविक मूल्यवृद्धि गराउने दलाल तथा नाफाखोर व्यापारीहरूलाई कारबाही गरियोस् ।

७. झ्याप्ले खोलामा सुरुमा सानो पहिरो गएको र त्यसलाई हटाएको भए त्यहाँ ठुलो दुर्घटना हुनबाट जोगिनसक्ने अवस्था थियो । भीषण वर्षा हुने, बाढी पहिरो, मानिसहरू उद्धारको आशामा घण्टौं छानामाथि बसेको र पहिरो गएको जस्ता सूचना पाउँदा पनि कुनै पहल नगर्ने गैरजिम्मेवार अधिकारी तथा कर्मचारीहरूमाथि अविलम्ब छानविन गरी कारबाही गरियोस् ।
८. घर डुवानमा पर्दा नष्ट भएका वा हराएका जनसमुदायका नागरिकता, लालपुर्जा, पासपोर्ट, शैक्षिक प्रमाण–पत्र लगायतका सरकारी र अन्य महत्वपूर्ण कागजपत्रहरू वा तिनका प्रतिलिपिहरू सहज र सरल रूपले अविलम्ब उपलब्ध गराइयोस् ।
९. विद्यार्थीहरूलाई निःशुल्क पाठ्यपुस्तक र अध्ययन सामग्री तत्काल उपलब्ध गराइयोस् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close