कृष्णहरि भट्ट
नेपाल सरकारको प्रधानमन्त्रीको नेतृत्वमा २०८१ मंसीर १७ देखि २१ गते सम्मको चीन भ्रमणको क्रममा १८ गते चीनमा सम्पन्न पहिलो ९ बुँदे सम्झौता भयो । यो सम्झौताको बुँदा नं. ४ मा थर्मल प्रोसेस बफेलो मिट रहेको छ । यसबाट अब मापदण्ड पुरा गरेको मासु नेपालबाट निर्यातको बाटो खुलेको छ ।
चीनीया निजी क्षेत्र र नेपाली निजी क्षेत्र वीचमा २७ अर्व बढीको साझेदारीमा नेपालमा अन्तराष्ट्रिय स्तरको पशु बधशाला निर्माण गर्ने र पशु पालनमा लगानी गर्ने समझदारी पत्रमा यही पुस १ गने काठमाडौंमा आयोजित कार्यक्रममा दुबै पक्षले एमओयु मा हस्ताक्षर गरेर कामको प्रारम्भ गरेका छन् । कार्यक्रममा नेपाल सरकारका कृषि र उद्योग मन्त्रीहरू, सचिव, सहसचिव, डिजि, विज्ञ र सरोकारवालाहरू संगै चीनीया राजदुतको पनि गरिमामय उपस्थिति रहेको थियो । यो कार्यलाई नेपाल सरकारले स्वागत गरेको र चीनीया पक्षले राम्रो मानेको भनाइहरू व्यक्त भएका थिए । यस क्षेत्रमा रहेका समस्याहरू मिलेर समाधान गर्ने कुरामा पनि प्रतिबद्धता जाहेर भयो ।
यो सहकार्यलाई नयाँ नेपाल निर्माणको मुख्य बाटोको रूपमा नेपाली जनताले हेरेको छन् र हामीहरूले अनेकन बाधाबन्धन पार गर्दै गरिएको विगत १६ वर्षदेखिको निरन्तर प्रयास पछिको एक तहको सफलताको रूपमा बुझेका छौं । हामीले यो कामलाई यसकारण रोजेका थियो कि नेपाल एक कृषि प्रधान देश हो र नेपालको प्रगति कृषिमै आधारित क्रियाकलापबाट हुन सक्दछ । शुरूआति समयमा अरू सबै सम्भावनाहरूलाई तिलाञ्जली दिदै किसानको घरमा श्रोत पु¥याउने सही माध्यमको रूपमा रहेको राँगाभैंसीमा आधारित उद्योग पशु बधशाला सञ्चालन गरेका थियौं । अब सबै मिलेर अगाडि बढ्न सक्यौं भने हाम्रा समस्याहरू समाधानको दिशा तर्फ लम्कनेछ ।
नेपालमा झण्डै २ अर्व बरावरको लगानीमा ९ ओटा पशु बधशालाहरू सञ्चालनमा थिए । केही बन्द भए । केही छुकछुक गतिमा चलिरहेका छन् । यी पशु बधशाला सञ्चालनमा नआउनु मुख्यतः पशु बधशाला तथा मासु जाँच ऐन २०५५ कार्यान्वयनमा ल्याउन नसक्नु हो । यदी यी बधशालाहरू पूर्ण रूपमा सञ्चालनमा आउन सकेको भए मासुका लागि पशु पालन र मासुजन्य क्रियाकलापले नयाँ उचाई हासिल गर्न सक्थ्यो । र नेपाली अर्थतन्त्रलाई बलियो बनाउने एउटा आधारको क्षेत्र बन्न सक्दथ्यो ।
चीनमा मासुको खपत :
विश्व खपत हुने मासुको २७ प्रतिशत हिस्सा चीन एक्लैको रहेको छ । चीनले वार्षिक १० करोड टन मासुको खपत गर्दछ । यसमा घोडा, खच्चर, बंगुर, राँगाभैंसी, गाई, माछा, कुखुरा, खसिबोका आदिका मासु रहेका छन् । चीनमा राँगाभैंसीको मासुलाई बढी मन पराइन्छ । मुख्य अतिथिको सत्कारमा नेपालमा खसिको मासु राखिएझैं राँगाभैंसीको मासु राखिन्छ । नेपाली मासुको स्वादलाई बढी मन पराइन्छ ।
राँगाभैंसीको माग :
हाल भएको सम्झौता अनुसार नेपालबाट प्रतिदिन ५ हजार जनावरको माग रहेको छ । यो भनेको सदर ५ सय टन मात्र हो । वर्षको २५० दिनलाई कार्यदिवश मान्ने हो भने १२५००० टन हो । यसका लागि प्रति वर्ष १२ लाख ५० हजारको पाँचगुणा राँगाभैंसीको उत्पादन गर्नु पर्दछ । यो मागलाई नेपालले पुरा गर्ने उत्पादन गर्दा रोजगारीको सृर्जना, नयाँ घाँस दाना लगायतको उद्योगहरूको स्थापना भई निर्यात बढ्ने छ र नेपालमा विदेशी मुद्राको सञ्चिति भई ठूलो आर्थिक लाभको सुनिश्चितता हुन्छ ।
हाम्रो खोजी :
नेपाल सम्भावना नै सम्भावनाले भरिपूर्ण देश हो । जीवनयापनका लागि चाहिने आधारभूत आवश्यकता पुरा गर्ने सबै प्रकारका सम्भावनाको अवस्थिति नेपालमा रहेको छ । यसको सही व्यवस्थापन भने विगत लामो समयदेखि हुन सकिरहेको छैन । जसका कारणले गर्दा जुन रफ्तारमा प्रगति हुनु पर्ने थियो त्यो हुन सकिरहेको छैन । यसका बाबजुद सम्भावनाको खोजिको यात्रा भने रोकिएको छैन ।
नेपालमा नेपाली जनताले हासिल गरेका अनेकौं आविष्कारहरू छन् । उनीहरूले हासिल गरेका अनेकौं सीप, दक्षता र शिक्षाहरू छन् । उनीहरूले हासिल गरेको धनबाट यो देश चलिरहेको छ । चाहे उनीहरू देशभित्र काम गरून चाहे देश बाहिर । उनीहरूले अत्यन्त कठीनभन्दा कठीन यात्रा पार गरेका छन् । उनीहरू देशभित्रै काम गर्ने अवसरको खोजिमा रहेका छन् र कठीनाइ दुर गर्ने सपना देखिरहेका छन् । त्यस्तो अवसरको खोजिमा नेपाली जनता रहेका छन् यदि देश भित्रै केही गर्ने अवसर उनीहरूले पाए भने यो देश ‘दिन दुईगुणा रात चौ गुणा’का दरले प्रगतिपथमा अग्रसर गराउन सक्दछन् ।
के हो त त्यस्तो क्षेत्र ?
नेपाली समाजभित्र थोरै धन छ । यिनै धनको सही सदुपयोग भयो भने पनि नेपाली जनताको प्रगतिको मुहान खुल्न सक्दछ । त्यो धन कृषिजन्य क्रियाकलापमा आधारित धन हो । नेपाली आम जनता÷किसानले गर्न सक्ने कामको मुख्य क्षेत्र भएकाले यसलाई नेपालीको धन भनिएको हो । मानव जीवन रक्षाको लागि चाहिने आधारभूत पदार्थ भनेको खाद्यान्न हो । खाद्यान्न उत्पादनको विकल्प रहित क्षेत्र कृषि क्षेत्र हो । त्यसकारण हामीसंग भएका हाम्रा जमीन, हाम्रा अनुभव र हाम्रा योजना हाम्रा तमाम आवश्यकता पुरा गर्न कृषिजन्य क्रियाकलापमा लगाउनु पर्छ । कृषिजन्य उत्पादनमा स्वनिर्भर भई निर्यात गर्ने स्तरमा विकास गर्नु पर्दछ । यसको मुल आधार भनेको पशु पालन हो । पशु पालनमा पनि राँगाभैंसी हो । राँगाभैंसी मासु उत्पादनका लागि पालन गर्ने हो । नेपाली समाजमा राँगाभैंसीको मासुको उपभोग हुने गरे तापनि मासुजन्य उत्पादनका लागि आजसम्म राँगाभैंसीको पालन भएको छैन । मासु प्रयोजनका लागि पालन गरिएका राँगाभैंसीबाट निस्कने मलमुत्रबाट हुने कृषिजन्य जैविक उत्पादन, दुध, दुग्घजन्य पदार्थ, छाला, हड्डि, सिङ, खुर जस्ता उत्पादन र सह उत्पादनमा आधारित अनेकौं उद्योगधन्दाहरू स्थापना हुने र त्यसबाट हुने रोजगारीको प्रवर्धन तथा आर्थिक र स्वास्थ्यजन्य लाभहरूको श्रृंखला नै बन्दछ । जुन लाभ अन्य जनावरबाट सहजै प्राप्त गर्न सक्दैनौं । अहिले विकासमा रहेको विज्ञान र प्रविधिहरूलाई पनि यस क्षेत्रमा प्रयोग गर्नु पर्दछ र खुद नयाँ प्रविधि बन्नु पर्दछ । किनभने प्रविधिले पेट भरिन्न ।
के छ त राँगाभैंसी पालनका पूर्वाधारहरू ?
राँगाभैंसी पालनको पूर्वाधारहरूमा किसानसंग जमिनको उपलब्धता, गोठ निर्माण, उच्च स्तरको नश्लको प्राप्तता, घाँस, पानी तथा खुराकको प्रयाप्तता, दुधको उचित मुल्य, राँगा तथा थारो भैंसीको सही मुल्यमा विक्री हुने अवस्थाहरू प्रयाप्त जनशक्ति जस्ता पक्षहरू पूर्वाधारका रूपमा रहेका छन् । कृषि तथ्यांकले भन्छ नेपालमा ६६ लाख बढी घरधुरी मध्ये ४१ लाख बढी किसानको घरधुरी रहेको छ । त्यसमा ३९ लाख बढी घरधुरी कृषिमा आधारित घरधुरी रहेका छन् । अहिले नेपालमा २९ लाख बढी राँगाभैंसी रहेको छ । यो घट्दो क्रममा रहेको छ । विदेशीएका र विदेशीन तयार रहेका युवा शक्तिको आकर्षणको क्षेत्रको रूपमा पनि यो क्षेत्र रहेको छ । तर यसलाई व्यवस्थित बजारिकरण गर्न सक्दा मात्र तुरून्तै डबल हुन्छ र नाफाको सुनिश्चितता रहेमा चौबर हुने निश्चित छ ।
सरकारी स्तरबाट कृषिसेवा र पशुसेवा गाउँ स्तरमा दिने १००० भन्दा बढी सेवा कार्यालयहरू रहेका छन् । त्यही अनुसारका भेटेरीनरी डाक्टर र प्राविधिकहरू रहेका छन् । जनसंख्याको ६६ प्रतिशत भन्दा बढी जनताहरू यस क्षेत्रमा निर्भर रहेका छन् ।
चुनौतिहरू :
नेपालमा श्रमको सम्मान गर्ने परिपाटी नहुनु सबैभन्दा ठूलो चुनौतिको रूपमा रहेको छ । यसो हुनुमा इतिहासकाल देखि नै नेपालीको संस्कार र संकृति शक्ति र भक्तिको उपासनाको वरिपरि घुमिरहनु हो । ‘कर्म गर फलको आश नगर’ को धारणाबाट मुक्त हुन नसक्नु हो । उच्च जात र निच जातको व्यवहार गर्नु हो । ठूलो र सुकिलो काम र सानो र फोहार काममा विभेद गर्न हो । छुत र अछुतको व्यवहार लगायत अनेकौं विभेदजन्य कार्यहरूलाई धार्मिक एवम् सांस्कृतिक मान्यता दिनुले आजसम्म पनि समाजमा श्रमलाई सम्मानित र पहिलो कार्य मान्ने परिपाटीको स्थापना हुन सकिरहेको छैन । त्यसमा पनि गोबर भैंसीको काम ? पढेलेखेकाहरूले भैंसी पाल्ने, गोबरको काम गर्ने ? गनाउने र फोहोर काम गर्ने ? आजको समयमा पनि यस्तो काम गर्ने ? भन्ने मान्यता अझै रहेको छ । फेरी किसानको स्वामित्वमा प्रयाप्त जमिन छैन, श्रोत छैन, पूर्वाधार छैन, किसानसंग भएको उत्पादनको उचित मुल्य र बजारको सुनिश्चितता छैन । त्यसमाथि खोरेत रोगको संक्रमण छ । नश्ल सुधारको कुनै गतिलो योजना छैन । यो क्षेत्रमा समाज र सरकारको उदासिनता रहेको छ ।
नेपालमा विदेशी लगानी भएका क्षेत्रहरूको प्रभावकारिता न्यून रहेको छ । यसकारण पशु पालन र यसलाई प्रशोधन गरी निर्यात योग्य बनाउनलाई बास्तवमै राष्ट्र गौरव अभियानमा आँच आउन नदिन सरकार र निजी क्षेत्रको सही समन्वयमा योजना कार्यान्वयन हुन सक्नु पर्दछ । यो अभियान कार्यान्वयनका लागि दलीय स्वार्थ भन्दा माथि उठेर देशको स्वार्थलाई प्राथमिकता दिन सक्नु पर्दछ । किन भने यो अभियानलाई हामी सबै नेपालीको साझा हितको अभियानको रूपमा प्रवर्धन गर्न सक्नु पर्दछ ।
सम्भावना :
नेपालको कृषि जनगणना २०७८ अनुसार कुल ६६ लाख भन्दा बढी घरधुरी मध्ये ४१ लाख बढी घरधुरी किसान छन् । त्यसमा ३९ लाख बढी घरधुरी किसान कृषिजन्य पेसामा निर्भर रहेका छन् । अर्थात कुल जनसंख्याको ६६ प्रतिशत भन्दा बढी झन्डै दुई करोड जनसंख्या आजपनि कृषिमा आधारित जीवनयापन गरिरहेका छन् । यो क्षेत्रको राष्ट्रिय योगदान ३६ प्रतिशत भन्दा बढी रहेको छ ।
नेपाली किसानको घरमा अहिले २९ लाख भन्दा बढी राँगाभैंसी रहेको छ । मासुका लागि राँगाभैंसी पालन कार्यक्रम शुरू हुनासाथ अर्थात व्यवसायिक लाभको सुनिश्चितता हुनासाथ यसको संख्या दोबर चौबर हुने निश्चित छ । यसमा व्यवसायिक पालन भएपछि नेपाल एक राँगाभैंसी पालनको ‘हव’ हुने निश्चित छ ।
नेपालमा कालो सुन अर्थात कालो भैंसी :
लाखौं जनवारका जाति मध्ये राँगाभैंसी मात्र यस्तो जाति हो जसको दुध खान मिल्छ मासु खान मिल्छ छाला, हड्डि, खुर, सिङ प्रयोग गर्न मिल्छ । यसको मलमुत्रबाट जैविक (अर्गानिक) खाद्यान्न उत्पादन गर्न सकिन्छ । अघिल्लो समयमा समयमा राँगाभैंसीलाई प्रयोग गरेर खेतबारी जोत्ने कार्य हुन्थ्यो । कुनैबेला मानिसको समृद्धिको मुख्य सुचक उसको घरमा रहेको पशुहरूको गणनाबाट हुन्थ्यो । गाडा तान्ने ढुवानी तथा यातायातको माध्यम भएको तथ्य इतिहास बनिसक्यो । तरपनि आज मानव जीवनको लागि एक महत्वपूर्ण खाद्यान्नको श्रोत बनेर र अर्थोपार्जनको महत्वपूर्ण पक्ष बनेर किसान र देशको अगाडि ‘कालो सुन’ बनेर चम्कि रहेको छ । जसलाई चिन्न र सही व्यवहार गर्न मात्र बाँकी छ ।
नेपालमा पाइने राँगाभैंसीका जातहरू :
नेपालमा मुलतः व्यवहारमा चार थरी भैंसीहरू पालिन्छ । लिमे भैंसी पश्चिम नेपालमा पाइने मुख्य जात मध्येको एक हो भने पार्कोटे भैंसी मध्य पहाड देखि उच्च पहाडमा पाइन्छ । गड्डी भैंसी सुदुर पश्चिमको उच्च पहाडमा पाइने जात हो भने मुर्रा र्भैसी भारतको पञ्जावमा पाइए तापनि नेपालका सबै जसो क्षेत्रमा दुधका लागि पालन गरिन्छ । मुर्रा भैंसी दुध र मासुका लागि पनि प्रसिद्ध रहेको छ । अर्ना भैंसी कोशी टापुमामात्र पाइन्छ । यो भैंसी पनि मासुका लागि उपर्युक्त नश्ल रहेको छ । तर यसलाई घरमा पालिने गरिएको छैन ।
गेम चेन्जर कसरी ?
यो काम एक्लै हुने काम हैन । सबै मिलेर गर्नुपर्ने काम हो । यो ठूलो दायरा भएको कामको क्षेत्र भएकाले सबैलाई पर्याप्त काम पुग्दछ । २ करोड जनताले एकै किसिमले गर्न सक्ने काम भनेको कृषिजन्य क्रियाकलाप नै हो । त्यसमा पनि पशु पालन । पशु पालनमा पनि राँगाभैंसीको पालन । त्यसमा पनि मासुका लागि पालन । आजको दिनमा नेपाल सरकारको गणना अनुसार नेपालमा २९ लाख भन्दा बढी राँगाभैंसी रहेको छ । २९ लाख राँगाभैंसी पालेका किसानले दोबर पाले ५८ लाख हुन्छ तेबर पाले ८७ लाख हुन्छ । २ करोड जनसंख्यामा ५० लाखले मात्र यो पेसा अपनाए भने पनि एक जनाले ४ ओटा जनावर पाल्दामात्र पनि २ करोड जनावर हुन्छ । यसको नेपाललाई चाहिने संख्या घटाएर बेच्दा पनि झण्डै १ करोड ७५ लाख जनावर विक्री गर्न सकिन्छ । यसबाट हुने लाभले जनताका आवश्यकताहरूलाई पुरा गर्दछ र जीवन स्तरलाई नै माथि उठाइ दिन्छ । र चौतर्फि विकास र परिवर्तनको बन्द ढोका खोलिदिन्छ । परनिर्भरताबाट मुक्त हुँदै स्वनिर्भर र स्वरोजगार बनाइदिन्छ । नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक जीवनलाई नै नयाँ उभाइमा पुराउन सक्ने क्षेत्र मध्ये पशुपालन नै मुख्य क्षेत्र भएकाले यो क्षेत्रको योजनाबद्ध विकासले नेपालको नयाँ परिचय निर्माणमा युगान्तकारी भूमिका निर्वाह गर्न सक्दछ । त्यसकारण मासुका लागि पशुपालन नेपालका लागि नेपाली समाजको ‘गेम चेन्जर’ योजनाको रूपमा रहेको छ ।
निष्कर्ष :
राँगाभैंसीको सबैभन्दा ठूलो उत्पादक देश भारत हो । सबैभन्दा ठूलो खपतकर्ता देश चीन हो । तर भारतको मासुले आजसम्म चीनको बजार पाउन सकेको छैन । तर नेपालले पाएको छ । चीन सरकारले नेपाली जनतालाई दिएको यो सबैभन्दा ठूलो अवसर र उपहार हो । चीनीया लगानीकर्ताको हामी प्रतिको ठूलो विश्वास हो । यसबाट चीन सरकार र चीनीया जनता नेपाल र नेपाली जनताको सबैभन्दा ठूलो र भरपर्दो मित्रको रूपमा देखा परेको छ । यस सन्दर्भमा चीनमा एउटा उखान निकै प्रचलित छ – ‘भोको मानिसलाई माछा नदेऊ बरू उसलाई माछा मार्न सिकाइदेऊ ।’ यो सोंच सही छ । नेपालले भिक माग्ने हैन, काम माग्ने हो । जब हामी काम सिक्न थाल्ने छौं, काम गर्न थाल्नेछौं तब हाम्रा तमाम बाधाहरू हटेर जानेछन् ।
khbhatta@gmail.com
लेखक : पशु बधशाला व्यवसायी संघ, नेपालका महासचिव हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्