
हार्दिक अपिल
काठमाडौं माघ १९, लामो समय विशेषत २०४५ साल देखि जिल्ला केन्द्रित आन्दोलन गर्दा पनि हाम्रो न्यायपूर्ण मागको सुनुवाई नभएकोले हामी स्वर्गद्वारी गुठीका मोही किसानहरू २०८१ माघ २० देखि काठमाडौं केन्द्रित आन्दोलनमा छौं । हाम्रो मुख्य माग–स्वर्गद्धारी गुठीको जग्गा मोही किसानको नाममा रैतानी गर्ने गरि गुठी ऐन जारी गर्नुपर्छ भन्ने हो । स्वर्गद्धारी गुठीको मोही दाङ जिल्लामा १२ मौजा (गाउँ) मा ३ हजार ५ परिवारका करिव १६ हजार जनसंख्या बसोवास छ । कुल १ हजार ५० विघा जमीन गुठी अन्तर्गत छ । किसानले खेतीपाती गर्दै बसोवास समेत गर्दै आएको पुस्तौं बित्यो, उक्त जग्गा हाम्रो बाजे, जिजुबाजेले खेतीयोग्य बनाएका हुन् । स्वामित्व भने स्वर्गद्धारी गुठीको नाममा छ । हामीसँग मोहीयानी पुर्जा छ । त्यो पनि २०६२ चैत १४ गते सर्वोच्च अदालतको संयुक्त इजलासबाट परमादेशसमेत जारी गरि खारेजी गरिएको छ ।
नेपालको संविधान २०७२ को दफा २९० मा गुठी सम्बन्धी व्यवस्थामा भनिएको छ, गुठी जग्गामा भोगाधिकार भइरहेका किसान एवम् गुठीको अधिकारको सम्बन्धमा संघीय संसद्ले आवश्यक कानुन बनाउने छ । नेपालको संविधानको धारा ५१, को उपधारा ‘ङ’ मा कृषि र भूमि सुधारसम्बन्धी नीतिगत व्यवस्थामा भूमिमा रहेको दोहोरो स्वामित्व अन्त्य गर्ने, किसानलाई प्राथामिकता दिएर भूमि सुधार गर्नेमा जोड दिएको छ । अनुपस्थित भूस्वामित्वलाई निरुत्साहित गर्ने, किसानको हकहित संरक्षण गर्दै कृषिको उत्पादन र उत्पादकत्व बढाउने विषय पनि उल्लेख छ । यी व्यवस्थाले गुठी जमीन जोतभोग गरेका किसानलाई जमीनको स्वामित्व दिने गरि आवश्यक कानुनी व्यवस्था गर्न सरकारलाई निर्देशित गरेको छ ।
तर, जग्गा जोतखन, स्याहार, संरक्षण र माया गर्ने हामी किसान तर, स्वामित्व नपाउँदा साह्रै अन्यायमा परेका छौं । हामीले जोतखन गर्दै आएको जग्गाको स्वामित्व माग गर्दा नदिएपछि बाध्य भएर राज्यको ध्यानाकर्षण गराउनको लागि काठमाडौं केन्द्रित आन्दोलनमा छौं । गत वर्ष २०८० फागुन ७ देखि १ महिना लामो आन्दोलन दाङमै ग¥यौ । सरकारसँग दुई बुँदे सम्झौता भयो । एक वर्ष हुनै लाग्दा पनि सम्झौता कार्यान्वयन गरिएन । यसबीचमा फेरी पनि हामीले पटक–पटक उच्च राजनीतिक शिर्ष नेतृत्व, प्रधानमन्त्री, भूमि व्यवस्था मन्त्री, सरकारका अन्यमन्त्रीहरू, पूर्वप्रधानमन्त्रीहरू र सांसद र सम्बन्धित सरोकारवालाहरू सबैलाई भेटेर गुनासो सुनायौं । तर बाचा पूरा भएन । अतः हामी निम्न माग राखी यो काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी भएका छौं । यो आन्दोलनमा सहयोग एवम् ऐक्यवद्धताको लागि न्यायप्रेमी सबैमा हार्दिक अपिल गर्दछौं ।
प्रमुख मागहरू
–मोही किसानले जोतभोग गर्दै आएको जमिन मोहीको नाममा रैतानी हुने कानुनी व्यवस्था गरियोस् ।
–विशेष प्रकृतिको निजी भनिएको गुठी जग्गाका निस्काशित मोहीको हक पुनस्र्थापित गरियोस् ।
–किसानले बुझाउनु पर्ने रैतानी वापतको तिरो वडामार्फत बुझाउने व्यवस्था गरियोस् ।
स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समिति दाङ
प्रतिक्रिया दिनुहोस्