मेटाराइजीयम ढुसीको प्रयोगबाट खुम्रेकीराको जैविक नियन्त्रण
१.१ खुम्रेकीराबारे जानकारी ः
खुम्रेकीराको वयस्कहरू खपटे (Caleoptera) समुहमा पर्छन् । माटोमा लाग्ने यस खतरनाक कीराको प्रकोप नेपाल अधिराज्यभरी नै छ । पूर्वी नेपालमा विशेषगरी मकै, अदुवा, तरकारी बालीहरू, आलु र चियामा यसले व्यापक क्षति पु¥याउँदै आएको छ । खुम्रेकीराहरूले माटो भित्रैबाट बिरूवाका जराहरू खान्छन् । तर वयस्कहरू फलफुल र अन्य धेरै बालीनालीका पात खान्छन् । यो कीराको जीवनचक्र १ देखि ३ वर्षसम्मको हुन्छ । माउ (वयस्क) खपटेहरू वैशाख देखि असोजसम्म सक्रिय रहने गरेको पाइएको छ । यद्यपि मध्य पहाडमा असार देखि श्रावणसम्म र उच्च पहाडमा जेठदेखि असारसम्म बढी सक्रिय रहेको पाइएको छ ।
१.२ मेटाराइजीयम एनिसोप्ली (Matarhizium anisopliae) मेटाराइजीयम एनिसोप्ली –ः(–M-anisopliae) एक किसिमको ढुसी हो, जुन मरेका कीराहरूमा पाइन्छ । यसले खुम्रेकीराहरूलाई आक्रमण गर्छ र कीराको बाहिरी आवरण वा क्युटिकल (cuticle)लाई छेडेर शरीरभित्र प्रवेश गर्छ । यो ढुसीको आक्रमण पश्चात् कीराहरू अचल भएर मर्छन् । यसरी मरेको कीरामा ढुसी वृद्धि भएर अत्याधिक मात्रामा ढुसीका कणहरू (Spores) उत्पादन हुन्छन् र माटोमा फैलिन्छन् । तसर्थ, माटोमा चिस्यान रहिरहेमा मरेका कीरामा उत्पादित ढुसीका कणहरू माटोमा फैलिने हुनाले यो ढुसी एक पटक प्रयोग गरेपछि पटक– पटक प्रयोग गरिरहनु पर्दैन ।
१.३ खुम्रेकीराको नियन्त्रणमा मेटाराइजीयम एनिसोप्लीको प्रयोग ः
खुम्रेकीरा नियन्त्रणको निम्ति बाली काटेपछि खेतबारीलाई गहिरो गरी जोतिदिने, खेतबारी राम्रोसँग गोडमेल गरेर सफा राख्ने, कीराहरू जम्मा गरेर नष्ट गरिदिने, भटमास र अन्य दलहन बालीहरूसँग समावेश गरेर घुम्ती बालीहरू लगाउने, र काँचो मलको प्रयोग नगर्ने जस्ता विभिन्न तरिकाहरू अपनाईदै आइए तापनि खासै प्रभावकारी हुन सकेको छैन । विशेषगरी रासायनिक विषादिहरू यी कीरा नियन्त्रण गर्न कम प्रभावकारी हुनुका साथै वातावरणमा समेत प्रतिकुल असर पार्ने हुनाले जैविक विषादिको प्रयोगबाट उक्त कीराहरूको नियन्त्रणको प्रयास हुँदै आएको छ । कृषि अनुसन्धान केन्द्र, पाख्रीबासमा समेत विभिन्न समयमा गरिएको अनुसन्धानहरूले रासायनिक विषादि र विदेशमा प्रयोग हुँदै आएका जैविक विषादिहरू कम प्रभावकारी पाइएपछि पूर्वी पहाडका विभिन्न स्थानमा खुम्रेकीराका नमुना संकलन गरेर त्यसबाट ५० भन्दा धेरै किसिमका मेटाराइजीयम ढुसी (Spores) को संकलन गरिएको थियो ।
संकलन पश्चात् ढुसीहरूलाई शुद्धिकरण गरेर प्रयोगशालामा गरिएको परीक्षणबाट उक्त ढुसीहरूमध्ये ७ वटा (पी.एम.ए. १, २, ५, १०, १५, १७ र ३६) ले ९० प्रतिशत भन्दा धेरै खुम्रेकीरा मार्ने क्षमता भएको पाइयो । उक्त M-anisopliae (ढुसी) हरूलाई धेरै मात्रामा उत्पादन गर्न विभिन्न वस्तुहरूको प्रयोग गरेर हेर्दा जौमा सबैभन्दा राम्ररी ढुसी उत्पादन भएको पाइयो । यसरी जौमा उत्पादितM-anisopliae लाई माटोमा परीक्षण गर्दा मकै र बन्दा लगायतका बालीहरूमा ६० देखि ७० प्रतिशतसम्म प्रभावकारी भएको पाइएको छ ।
खेतबारीमा ढुसी भएको जौको दाना ४० के.जी प्रतिहेक्टर (२ के.जी. प्रतिरोपनी)को दरले प्रयोग गरिन्छ । ढुसी भएका जौका दानालाई खनेर वा हलोको सियोमा वा अन्य तरिकाबाट माटोभित्र राख्न सकिन्छ । ढुसीको प्रयोग गरिसकेपछि माटोमा चिस्यान हुनु आवश्यक छ । माटोमा चिस्यान कायम रहिरहेमा दोहो¥याएर प्रयोग गर्नुपर्दैन ।
आलुको पात खन्ने झिङ्गा र यसको व्यवस्थापन ः
आलुको पात खन्ने झिँगा (लीफ माइनरLiriomyza spp) उष्ण तथा समशितोष्ण प्रदेशमा खेती गरिने तरकारी बालीहरूको एउटा महत्वपूर्ण हानिकारक कीरा हो । सन् १९७० को दशकभन्दा पहिले यसको प्रकोप युरोप र अमेरिकामा केन्द्रित रहेको थियो, भने हाल यसको प्रकोप अष्ट्रेलिया, ल्याटिन अमेरिका, अफ्रिका र एशियाली देशहरूमा पनि देखा पर्न थालेको छ । यस कीराको प्रकोप आलुबालीमा हानिकारक स्तरमा रहेको र यसको उपस्थिति प्रथम पटक काभ्रेपलाञ्चोक जिल्लाको टुकुचा गाविसमा कीट विज्ञान महाशाखाले कृषकको खेतमा परिक्षण सञ्चालन गर्ने सिलसिलामा आधिकारिक रूपले पहिचान गरेको हो । राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रमको वार्षिक प्रतिवेदनमा पनि यस कीराको प्रकोप २००६ मा काभ्रेपलाञ्चोक जिल्लाको नाला भन्ने स्थानमा आर्थिक दृष्टिकोणले उल्लेख्य हिसाबमा रहेको कुरा उल्लेख गरिएको छ (NPRP, 2008)। कृषकहरूको अनुरोध र व्यापक रूपमा फैलदै गएको यसको प्रकोपको स्थितिलाई ध्यानमा राखी कीट विज्ञान महाशाखाले २००७ सालमा अनुसन्धान कार्य शुरू थियो । यसको प्रकोपको कारणले उक्त क्षेत्रहरूमा आलुको उत्पादनमा ३०–५०% सम्म ह्रास आउने गरेको कृषकहरूको अनुमान रहेको छ, जुन स्थलगत अवलोकनबाट पनि प्रमाणित भएको छ (Entomology Division, Annual Technical Report, 2007) ।
यो कीरा सर्वहारा प्रकृतिको हुन्छ, यसले प्लाष्टिक घर भित्र र बाहिर खेती गरिने विभिन्न तरकारी बालीहरूमा गम्भीर क्षति गर्दछ । यसले १५ परिवारका बाली तथा वनस्पतिहरूलाई आहारको रूपमा प्रयोग गर्दछ, जसमा गोलभेडा, बकुल्ला, लट्ठे, खुर्सानी, सखरखण्ड, सयपत्री, काँक्रो, डहलिया फूल, कनिके फूल, सिमीहरू, लसुन, भाङ्ग, प्याज, खेसारी, केराउ, तरभुजा, खरभुजा, मुला, पालुङ्गो, जिनिया, गन्धे झार, वनमारा आदि पर्दछन् ।
१.१ क्षति ः
बोटको तल्लो पातहरूमा यसको क्षति बढि देखिन्छ । यस कीराका विभिन्न प्रजातिहरूले पातको विभिन्न भागहरूको मेजोफिल (पातको तल्लो र माथिको सतह बीचको हरितकण भएको तन्तुहरू) खान्छन् । पातमा यसका लार्भाहरूले क्षति गर्दछन् । लार्भाहरू निस्किए पछि यिनिहरूले नागबेली आकारमा सुरूङ्ग बनाएर खान थाल्दछन् । कुनै–कुनैले आलुको डाँठसम्मलाई क्षति पु¥याउँछन् । राम्रोसँग हेर्ने हो भने लार्भाले पातको माथिल्लो सतहबाट खान शुरू गरेर तल्लो भागमा सुरूङ्ग बनाउदै गएको भेटिन्छ । वयस्क झिँगाले यसको फूल पार्ने सियो जस्तो अङ्ग प्रयोग गरेर पातका सतहहरूमा खोस्रेर घाउ पार्दछ । उक्त घाउभित्र नै फूल पार्दछ र यसै घाउबाट निस्केको तरल पदार्थ आहारको रूपमा पनि प्रयोग गर्दछ । यस किसिमका छेडिएका घाउ र सुरूङ्गहरूका संख्या बढेको स्थितिमा पातको प्रकाश संश्लेषण प्रकृया अवरूद्ध हुन्छ जसको फलस्वरूप पात डढेको जस्तो देखिन्छ र २०–२५ दिनदेखि कीराको प्रकोप शुरू भएर दुई महिना भित्रमा व्यापक भएको पाइएको छ । यसको प्रकोप शुरू भएको प्रारम्भिक दिनहरूमा कीराको संख्या बढ्ने क्रममा रहने र आलुको बोटको वृद्धि छिटो–छिटो हुने भएको कारणले यसको क्षति बोटको तल्ला पातहरूमा सामान्य रूपमा भएको जस्तो पाइन्छ र आलुबालीको स्थिति सामान्य देखिन्छ तर आलु रोपेको दुई महिना अवधि पुग्ने बेलामा झिँगाको संख्या निकै बढ्ने र आलुको बोटको वृद्धि पनि क्रमशः रोकिदै जाने भएकाले अर्को १५ दिन भित्रमा बोटका माथिल्ला पातहरूमा कीराले छेडेर बनाएका घाउहरू, सुरूङ्ग र वयस्क झिङ्गाहरू व्यापक रूपमा देखा पर्दछन् र आलुको बोट छोटो अवधिमा सुक्दछ । कृषकहरूले यस्तो लक्षणलाई डढुवा भनेर रोगनाशक विषादि प्रयोग गरेको पनि पाइएको छ । यस झिँगाको प्रकोप आलुको जात, उमेर र खेतबालीको चिस्यानको स्थिति अनुसार फरक परेको पनि पाइएको छ । जनकदेव जातको आलुले यसको प्रकोप तुलनात्मक हिसाबले सहन सक्ने देखिएको छ ।
१.२ पहिचान र जिवनचक्र ः
यस झिङ्गाले फूल, लार्भा, प्यूपा र वयस्क गरी चार अवस्थामा जिवनचक्र पुरा गर्दछ । यसको फूल गोलाकार, केही च्याप्टो, अपारदर्शी, शुरूमा हल्का हरियो, सेतो र लार्भा निस्कने बेलामा पहेंलो रङ्गमा फेरिन्छ ।
यसको लाभ फूलबाट निस्कने समयमा टाउको र पेट छुट्टिएको, सानो आकारको र पछि ५.५ मि.मि. सम्म लामो हुन्छ । लार्भा हल्का पहेंलो रङ्गको, छातीका भागको छेउतिर एक जोडा गुलावी रङ्गको धब्बा भएको हुन्छ । पछि गएर यो धब्बा हराउँदछ र यिनीहरूको प्रत्येक खण्डमा रातो धर्साहरू देखिन्छन् । यसको प्युपा ३.५ मि.मि. लामो, शुरूमा हरियो रङ्गको रातो थोप्ला भएको हुन्छ र बढ्दै जाँदा पछि गाढा खैरो रङ्गमा बदलिन्छ र पेटको छेउको भागमा वृद्धि भएको देखिन्छ । यसले बोटको तल्लो पातको मुख्य नसाको नजिकमा, नसामा वा पातको आधारको नजिक छुट्टा–छुट्टै वा समुहमा फूलहरू पार्दछ । फूलबाट लार्भा निस्कन ५–६ दिन लाग्छ । लार्भाको ५ अवस्था हुन्छन् । यसको जीवनचक्र ३–५ हप्ताको हुन्छ र यसले १ वर्षमा १३ पुस्तासम्म हुर्काउने गरेको पाइएको छ । यसको लार्भाको अवधि ५–८ दिन, र प्युपाको १०–१७ दिनको हुन्छ । वयस्कहरूले निस्केको ६–२४ घण्टा भित्रमा समागम गर्दछन् र १–३ दिन भित्र फूल पार्दछन् । सालाखाला १३–१८० सेल्सियसको मासिक तापक्रम यसको संख्या वृद्धिको लागि उपयुक्त देखिएको छ र बढीमा ३० डिग्री सेल्सियससम्मको तापक्रममा यसको सन्तान उत्पादन कार्य निरन्तर रूपले चलिरहने हुन्छ ।
९.३ कीराको सर्वेक्षण ः
सन् २००९ सालमा, आलु उत्पादनको दृष्टिकोणले नेपालको मुख्य–मुख्य ठाउँहरू जस्तै चितवन, मकवानपुर, काठमाण्डौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाहरूमा यस कीराको उपस्थिति र यसको व्यापकताबारे अध्ययन अनुसन्धान गरिएको थियो । यसको अलावा यस कीराले पुरÞ्याउने क्षतिबारे पनि अनुसन्धान कार्य सम्पन्न गरिएको थियो । त्यस सर्वेक्षणको नतिजा अनुसार माथि उल्लेखित सबै जिल्लाहरूमा यस कीराको प्रकोप रहेको र क्षतिको स्तरपनि दिनानुदिन बढ्दै गएको पाइएको छ । सबै जिल्लाहरूको विश्लेषण गर्दा औसत ६०% जति आलुको बोटहरूमा क्षति पु¥याएको देखिन आएको छ (Entomology Division, Annual Technical Report, 2010) । यसको साथसाथै तराईका अन्य जिल्लाहरू जस्तैः बांके, बर्दिया, दाङ्ग, कपिलवस्तु, रूपन्देहीमा यस कीराको प्रकोप फाट्टफुट्ट देखिएको छ ।
रोकथाम तथा व्यवस्थापन ः
पहेंलो चलायमान पासोको प्रयोग (Use of Mobile Yellow Trap)
यस कीराको रोकथाम तथा व्यवस्थापन गर्नका लागि गरिएको विभिन्न परिक्षणहरूमध्ये पहेंलो चलायमान पासोको प्रयोग तुलनात्मक हिसाबले प्रभावकारी देखिएको छ । स्थानिय स्तरमै बनाउन सकिने यो पासो करिव २ मि. लम्बाई र ३० से.मी. चौडाईको सेतो प्लाष्टिकको सिटमा पहेंलो रंगको लेप लगाई तयार गरिन्छ । उक्त पहेंलो लेप बनाउन निम्न पदार्थहरू मिलाएर मिश्रण बनाईन्छ ।
– फेभिकोल – १÷२ लिटर
– शैक्षिक प्रयोजनको लागि प्रयोग गरिने साधारण गुद– १÷२ लिटर
–पहेंलो रंग – २० ग्राम
यी सबै पदार्थहरूलाई ठिक मात्रामा मिलाएर बनाएको मिश्रणलाई रंग लगाउने ब्रसले माथी उल्लेख गरिएको प्लाष्टिकमा रंग दले जस्तै दल्ने र उक्त पासोलाई दुई छेउमा बाँसको सहायताले ब्यानर जस्तै बनाउने र आलुको बोटको टुप्पोको पातसम्म छुने गरी घुमाउने । यसो गर्दा उक्त पासोमा वयस्क माउहरू टाँसिएर मर्ने गर्दछन् । यो तरिका वयस्क झिँगााको संख्या घटाउन प्रभावकारी देखिएको छ । यसको प्रयोग गर्ने क्रममा पासोको प्रयोग गरिएको लिसो आलुको पातहरूमा टाँसिने र लिसो चाँडै सुक्ने जस्ता अवगुणहरू पनि देखा परे । पछि आएर यस पासोको गुणस्तर बढाउन उक्त पहेंलो घुम्ती पासोको परिमार्जन गरियो । फेभिकल र गमको सट्टामा पहिले देखिनै तयार पारिएको पहेंलो रंगको फ्लेक्स प्रिन्टमा (आवश्यकता अनुसारको करिब ५ मि. लम्बाई, १ मि. चौडाई) मोटरको इन्जिनमा प्रयोग गरिने रंगको ग्रिजले पोतेर पासो तयार पारियो । ग्रिजको प्रयोग गर्दा फ्लेक्स घ्यू प्रिन्ट चाँडै नसुक्ने र धेरै दिनसम्म टिक्ने पाईयो । अनुसन्धानको परिक्षणमा ग्रिजबाट तयार पारिएको पहेंलो चलायमान पासोको प्रयोगबाट उक्त कीराको क्षति न्युन भएको पाइएको छ । यस पासोमा पात खन्ने कीराको माउहरू प्रशस्त संख्यामा टाँसिएर मर्ने गर्दछन् ।
पहेंलो चलायमान पासोको प्रयोग गर्ने विधि ः
पहेंलो चलायमान पासो लिएर आलुको बोटको ठिक माथिबाट गह्राको एक बिन्दुबाट शुरू गरेर अगाडी बढ्ने र पछि फेरि सोही बाटोबाट फर्केर सोहि बिन्दुमा पुग्ने । यसरी हप्ताको दुई पटक दुई देखि तिन दिनको फरकमा पहेंलो चलायमान पासोको प्रयोग गर्नु पर्छ । यस कीराको अनुगमन गर्न राखेको स्थिर टाँसिने पासोमा ५ देखि १० वटा झिङ्गाको वयस्क फसेपछि यो प्रविधि प्रयोग गर्न शुरू गर्नुपर्छ ।
जैविक र सुरक्षित विषादिको प्रयोग ः
विश्वका धेरै देशहरूमा यसको जैविक व्यवस्थापन पनि गर्ने गरिएको छ । जैविक व्यवस्थापनको लागि Apanteless spp, Diglypus isaea, Hemiptarsenoidens semiabiclavus, Opius spp. आदि परिजीवी कीराको प्रयोग गर्ने गरिएको छ । यसको अलावा नीममा आधारित विषादि जस्तो मार्गोसोम अथवा अन्य कुनै ३–५ मि.लि. ÷ ली. पानीमा मिसाएर ७–७ दिनको फरकमा आलु उम्रे देखि नै छर्नु पर्दछ । आलु खनिसके पछि बोटहरू जलाउने वा गहिरो गरी गाड्ने गर्नुपर्दछ । यस भिङ्गाको अन्य आश्रयदाता वनस्पतिहरू पत्ता लगाई सफाई गर्नुपर्दछ । यसको प्रकोप पत्ता लगाउन पहेंलो टाँसिने लिसोको पासोको प्रयोग गर्न सकिन्छ । जसले यसको उपस्थिति जनाउँछ र उपचार गर्नुपर्ने समय निर्धारण गर्न सहयोग गर्दछ ।
व्यवस्थापनमा बोझोको प्रयोग ः
आधुनिक खेती प्रणालीको विकास हुनु पुर्व परम्परागत ज्ञानको आधारमा खेतीपाती गर्ने गरिन्थ्यो । वातावरणिय सन्तुलन रहने उक्त खेती प्रणालीमा किसानहरूले वनस्पतिहरू र प्राकृतिक पदार्थहरूको प्रयोग गर्ने गर्दथे किसानहरूले आफ्ना बाली–नालीमा कीरा र रोगको समस्या समाधान गर्नको लागि बोझोको प्रयोग गरिन्थ्यो ।
स्रोत ः कृषि अनुसन्धान परिपद्द्वारा प्रकाशित वातावरण मैत्री कृषि प्रविधि संगालो २०७३