कृषि उद्योगको दिगो विकासका लागि स्थिर नीतिको माग
काठमाडौं असोज १८, कृषि उद्योगको दिगो विकास र प्रवद्र्धनका लागि सरोकारवालाहरूले सरकारको स्थिर नीतिको आवश्यकता औंल्याएका छन् । आज ‘कृषि उद्योगको दिगो विकास र प्रवद्र्धनका लागि सरोकारवालाहरूसँग अन्तक्रिया गोष्ठी’ मा बोल्दै उनीहरूले वर्तमान कृषि उद्योगहरूलाई दिगो रूपमा सञ्चालन गर्न नीति अवलम्बन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
गोष्ठीमा कृषि विभागका महानिर्देशक डा.नरहरि प्रसाद घिमिरेले सरकारका नीति, नियम अनुसार बजेट तथा कार्यक्रम नभएको बताए । युवा पुस्तालाई कृषिमा आकर्षित गर्न उपयुक्त नीति बनाएर कृषि उद्योगलाई प्रोत्साहन गर्नु आजको आवश्यकता रहेको औंल्याए ।
नेपाल कृषि अनुसन्धान परिषद्का वैज्ञानिक गंगाराम भण्डारीले कृषि उद्योगबाट देशको आर्थिक उपार्जन सहित रोजगारी सिर्जना, सिपको विकास गर्न सकिने बताउँदै स्वदेशी कृषि उद्योगको प्रवद्र्धनमा राज्यले अहँम भूमिका निर्वाह गर्नुपर्ने बताए । भण्डारीले वर्तमान अवस्थामा देशका अधिकांश कृषि उद्योगहरूमा दक्ष्य जनशक्तिको अभाव, कच्चा पदार्थ आयातमा महँगो भन्सार दरले आयातलाई प्रोत्साहन र उद्योगीलाई निरुत्साहित गरेको बताउँदै यसमा सरकारले ध्यान दिन आग्रह गरे ।
हामीले कृषि सम्बन्धी कार्यक्रम लिएर जाँदा कृषिका केहि क्षेत्रमा नेपाललाई आत्मनिर्भर बनाउन सक्छौ भन्ने आत्मविश्वास कृषि उद्यमीमा देखियो त्यसैले यसमा सरकारले विशेष ध्यान दिनुपर्छ र सबैले आ–आफ्नो ठाउँमा राम्रो भूमिका निर्वाह गर्ने हो भने नेपालको कृषि र देशले काँचुली फेर्न सक्ने अनुभूति मलाई भयो ।”
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, खमुमलटारका वरिष्ठ कृषि इन्जिनियर जीत चन्दले राज्यका सबै तह र निकायबाट कृषिमा आधारित उद्योगमा रोजगारी सिर्जना गर्ने कार्यक्रम लागु गनुपर्ने बताए । चन्दले कृषिको प्रोजेक्टमा आधारित भएर ऋण दिने संयन्त्रको विकास गर्दा असली किसानहरूलाई फाइदा हुने दाबी गरे । अर्थ मन्त्रालयल राजस्व बढाउने कुरामा मात्र ध्यान दिएको बताउँदै आउँदो दिनमा त्यस्ता कुरामा ध्यान नदिएर कृषि उद्योगको विकासमा समेत ध्यान दिन आग्रह गरे ।
एसोसिएसन अफ एग्रीकल्चरल टेक्नोलोजी इन्डष्ट्री नेपाल नामिकाका पूर्व अध्यक्ष खोजराज कटुवाल नेपालको ६२ प्रतिशत जनसंख्या कृषिमा आधारित हुँदा पनि ९० प्रतिशत भन्दा बढीको कृषि सामग्री आयात हुनु राम्रो नभएको बताए । कटुवालले कृषि औजार, उपकरण, सामग्रीहरू उत्पादनको निम्ति सरकारको कुनै ठोस कानुनको व्यवस्था नभएको आगामी दिनमा कृषि उद्योगको विकासका निम्ती यस्ता विषयमा ध्यान दिन सरकारसँग आग्रह गरे । “नयाँ कृषि उद्योग स्थापना, विस्तार, तथा थप निजी लगानीका लागि उचित औद्योगिक वातावरण निर्माण भएको छैन् जसले कृषिमा नविनतम् प्रविधि भित्र्याउन ढिलो भएको छ ।”
कार्यक्रममा सरोकारवालाहरूले कृषि सम्बन्धि उद्योगको प्रवद्र्धन र विस्तारका लागि आवश्यक नीति, नवप्रवद्र्धन स्वदेशी उद्योगको स्थापनामा जोड दिएका थिए । नामियाले नेपालले पनि आगामी दिनमा कृषि उद्योगी, व्यवसायीलाई एकतावद्ध गर्दै यस क्षेत्रलाई थप व्यवस्थित गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
कृषकका उत्पादन सरकारले बजारीकरण गर्छः मन्त्री भण्डारी
काठमाडौ असोज १७, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कृषकले उत्पादन गरेका वस्तुको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत खरिद गरेर सरकारले बजारीकरण गर्ने बताएकाछन् ।
‘ह्याण्डीक्राफ्ट, मेड इन नेपाल, मेक इन नेपाल’ भन्ने मूल नारा का साथ भृकुटीमण्डपमा सम्पन्न भएको हस्तकलाका सामग्रीको प्रवद्र्धन गर्ने उदेश्यले आयोजित तीन दिने हिमालयन इन्टरनेशनल एक्स्पोको उद्घाटन समारोहमा बताएका हुन् । नेपाली कृषकले उत्पादन गरेका हरेक वस्तुको बजारीकरणका लागि वाणिज्य मन्त्रालयबाट छिट्टै कार्यविधि बनाएर खरिद प्रक्रिया थालिने बताए ।
केही समययता जुम्लालगायतका जिल्लामा स्याउको बिक्री नभएर बोटमै सड्न थालेको भनेर हल्ला फिजाइएपछि सरकारले त्यसको बजारीकरण गर्न चाँसो देखाउँदा त्यहाँका स्याउका बोट नै पहिल्यै व्यापारीले ठेक्कामा किनिसकेको जानकारी प्राप्त भएको मन्त्री भण्डारीले बताए ।
“सरकारले कृषकलाई प्रोत्साहित गर्न उनीहरुले उत्पादन गरेका खाद्य पदार्थ तथा वस्तुको बजारीकरण गर्ने तयारी गरिरहेको छ, अहिले पनि कर्णालीको सिमी र मार्सी चामललगायत वस्तु खरिद गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बजारीकरण गरिरहेको छ, अब कम्पनीले हिमाली तथा पहाडी जिल्लाका किसानलाई प्रोत्साहित गर्न अन्यत्र बिक्री हुन नसकेका वस्तु खरिद गर्नेछ”, भन्ने कुरा मन्त्री भण्डारीले बताए ।
नेपाली उत्पादनको निर्यात वृद्धि गरी आर्थिक समृद्धिको दिशातर्फ अगाडि लैजान यो प्रदर्शनीले महत्वपूर्ण भुमिका खेल्ने भनाइ राखे । सो एक्स्पोबाट हस्तकलासँग सरोकार राख्ने लघु तथा मझौला उद्यमीका लागि लगानी र व्यापार दुबैको अवसरसमेत सिर्जना भएको छ ।
नेपाली उत्पादनको उपभोग गर्नुपर्नेमा जोड दिँदै मन्त्री भण्डारीले भने, “उद्योग मन्त्रालयले अहिले स्वदेशी वस्तुको उपभोगलाई अनिवार्य गराउने अभियान अनुसार स्वदेशी वस्तुको उपभोगका विषयमा कार्यविधि बनाइरहेको छ, कार्यविधिले पहिलो चरणमा सरकारी निकायबाट स्वदेशी वस्तुको उपभोग अभियानको सुरुआत गरेर विस्तारै देशव्यापी बनाइने छ, कार्यविधि लगभग अन्तिम चरणमा छ ।”
अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी स्थलको आवश्यकता औँल्याउँदै निजी क्षेत्रसँगको सहकार्यमा प्रदर्शनीस्थल निर्माण गर्न सरकार तयार रहेको बताए । साथै उनले निजी क्षेत्रसँगकै सहकार्यमा जिर्ण एवं बन्द अवस्थामा रहेका देशका उद्योग तथा कलकारखाना सञ्चालन गर्न सरकारले पहल गरिरहेको बताए ।
कार्यक्रममा सांसद ज्ञानेन्द्र शाही र गणेश पराजुली, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य डा.रामशरण थपलिया लगायत वक्ताहरुले स्वदेशी वस्तुको उपभोगमा जोड दिँदै बन्द अवस्थामा रहेका उद्योग सञ्चालन गरिनुपर्ने र युवा जनशक्ति पलायन रोक्नुपर्नेमा जोड दिएका थिए ।