ललितपुर, कार्तिक ११, ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने नारासाथ फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)ले तिहार लक्षित गरेर गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शन शुरु गरेको छ । पुष्प व्यवसायीहरूको छाता संगठन फ्यानले ‘१७ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी–२०८१’ सम्पन्ने गरेको हो । फूलहरूको चाड तिहारमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक ८ गतेदेखि ११ गतेसम्म ललितपुरको जावलाखेलस्थित खेल मैदानमा शुरु भएको छ । उक्त प्रदर्शनीको समुद्घाटन बाग्मती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री प्रकाश श्रेष्ठले गरेका छन् ।
समुद्घाटन कार्यक्रमको अध्यक्षता फ्यान तदर्थ समितिका अध्यक्ष तथा संस्थापक सुरेश भक्त श्रेष्ठले गरेका थिए, भने प्रमुख आतिथ्यता वाग्मती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री प्रकाश श्रेष्ठले गरेका थिए । यसैगरी, विशेष अतिथिमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुर कृष्ण वैद्य रहेका थिए, भने अतिथिहरुमा वनस्पति विभागका महानिर्देशक डा.संजिव राई, नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष दिपक श्रेष्ठ, कृषि विभागका निर्मित्त महानिर्देशक जगन्नाथ तिवारी, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी प्रमुख शेखर खनाल, कृषि पुर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवद्र्धन केन्द्रका प्रमुख टिकाराम शर्मा, फ्यानका पूर्व अध्यक्षहरुलगायत रहेका थिए ।
समुद्घाटन कार्यक्रममा फ्यान तदर्थ समितिका अध्यक्ष तथा संस्थापक सुरेश भक्त श्रेष्ठले मेलाबारे जानकारी सहित स्वागत मन्तव्य राखेका थिए । यस्तै, नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष दिपक श्रेष्ठ, कृषि विभागका निर्मित्त महानिर्देशक जगन्नाथ तिवारी, वनस्पति विभागका महानिर्देशक डा. संजिव राई, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुर कृष्ण बैधे र वाग्मती प्रदेश सरकार अन्तगर्तको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री प्रकाश श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साथै समुद्घाटन कार्यक्रममा मेला संयोजक राम बहादुर तामाङले धन्यवाद ज्ञापन सहित सभा विसर्जन गरेका थिए ।
प्रदर्शनीमा सहभागी नर्सरी÷फर्महरूले उत्पादन गरेको गोदावरी फूलको ५ वटा (गोदावरीको मिनियचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र गोदावरीको कट फ्लावर) प्रजातिमा प्रतिस्पर्धा गराई पुरस्कृत समेत गराइएको छ । साथै प्रदर्शनीमा सहभागी भएको नर्सरी व्यवसायीहरूलाई उत्साह थप्नका लागि उत्कृष्ट स्टलतर्फ पनि प्रतिस्पर्धा गराई पुरस्कृत समेत गराइएको छ । जसमा सम्झना नर्सरी प्रथम, अरुण नर्सरी द्दतिय र थापा नर्सरी तृतीय स्थान हासिल गर्न सफल भएका छन् , भने उत्कृष्ट मिनियचरतर्फ दिक्षा नर्सरी, उत्कृष्ट कट फ्लावरतर्फ नवासेवा नर्सरी र उत्कृष्ट स्टलतर्फ माई नर्सरीलाई पुरस्कृत गरिएको छ । पुरस्कृत हुने नर्सरी÷फर्मलाई बाग्मती प्रदेश सरकार अन्तगर्तको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री प्रकाश श्रेष्ठले सिल्ड, नगद तथा प्रमाण–पत्र वितरण गरेका थिए ।
प्रदर्शनीमा ६८ वटा व्यावसायिक स्टल, २ वटा प्रतियोगितात्मक स्टल, ४ वटा अफिसियल स्टल र सेल्फी स्टल १ वटा गरी ७५ वटा प्रदर्शनी कक्ष रहेका थिए । उक्त प्रदर्शनीको सहयोगीको रुपमा बाग्मती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय र कृषि पुर्वधार विकास तथा कृषि यान्त्रिकरण प्रवद्र्धन केन्द्र रहेका छन्, प्रायोजक संस्थाको रुपमा अर्गानिक बायो फर्टिलाइजर प्रा.लि., नेपाल थोपा सिँचाई प्रा.लि. लगायत संघ÷संस्था रहेका थिए ।
उक्त प्रदर्शनीमा नेपालमा व्यावसायिक रूपमा उत्पादन हुँदै आएका र यस वर्ष भित्रिएका गोदावरी फूलको केही नयाँ प्रजातिसमेत प्रदर्शनी तथा बिक्री वितरणका लागि राखिएका छन् । यसका साथै यस सिजनमा फुल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूल बिरुवाहरुको समेत प्रदर्शनीमा रहेका छन् । फ्यानका अनुसार यस प्रदर्शनीबाट पुष्प व्यवसाय सञ्चालन गर्न चाहने, घर÷आँगन तथा बगैँचा सजाउन चाहने, फूल बिरुवा प्रति अभिरुची राख्ने र यस सम्बन्धी ज्ञान हासिल गर्न चाहने सबैको निम्ति उपयोगी हुने छ ।
पुष्प व्यवसायका क्षेत्रमा भए गरेका नयाँ–नयाँ प्रविधि र उपलब्धि सहितका जानकारी पनि प्रदर्शनी स्थलमा नै प्रदान गरिने व्यस्था गरिएको छ । फ्यानले पुष्प व्यवसायको व्यवसायिक विकास विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले वि.सं. २०५१ सालदेखि लगातार पुष्प मेला÷प्रदर्शनीको आयोजना गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्