डा.निर शाक्य
भूमिगत जल अति नै महत्वपूर्ण शुद्ध जल हो । यसलाई तरल सुन पनि भन्ने गरिन्छ । विश्वमा प्रयोग हुने पानीको ५० प्रतिशत भूमिगत जलबाट आपूर्ति हुने गर्दछ । हाम्रो देश नेपालमा भूमिगत जल खानेपानी, उद्योग धन्दा, सिँचाई आदिको लागि प्रयोग गर्ने गरिन्छ । विभिन्न प्रयोजनका लागि प्रयोग हुने भूमिगत जल जमीन मुनि नै रहने हुँदा यो जल प्रदुषित अवस्थामा छ वा छैन ? जोखिमपूर्ण भईरहेको छ वा छैन् ? प्रशोधन गर्न सकिन्छ वा सकिदैन ? आदि कुराहरू तुरुन्तै अनुमान गर्न गाह्रो हुन्छ । साँच्चै नै मानवीय क्रियाकलाप, गल्ती आदि कारणबाट यो जल जोखिमपूर्ण अवस्थामा हुनेछ वा हुने छैन । यी कुराबारे जानकारी लिन आजको विकासोन्मूख युगमा सान्दर्भिक देखिन्छ । भूमिगत जल एकै स्थानमा वा निश्चित स्थान मै मात्र सीमित भएर रहँदैन यो जल जमीनमूनि उच्च भागबाट होचो भागमा बहाव भईनै रहन्छ । यसर्थ मानवीय क्रियाकलापबाट भूमिगत जल दुषित हुने प्रवल सम्भावना रहन्छ । हाम्रो देशमा भूमिगत जललाई संवेदनशील स्रोतको रुपमा लिएका देखिदैन । तर, अन्य विकसित देशहरूमा यो स्रोतलाई अति नै संवेदनशील मानी दुषित हुन नदिन विभिन्न वैज्ञानिक क्रियाकलापहरू अपनाइएको हुन्छ । यसर्थ संसारकै प्रख्यात भू–जल विशेषाज्ञहरूले भूमिगत जललाई प्रदुषणको चपेटाबाट बाहिर रहन दिन विभिन्न मूल्याङ्कन पश्चात परिपूर्ति हुने क्षेत्र जस्ता अति नै संवेदनशील क्षेत्रहरूलाई संरक्षित गर्ने उपाय अवलम्वन गरिसकेका छन् ।
काठमाडौं उपत्यकामा खानेपानीको माग जनसंख्याको चापसँगै बढ्दो छ । खानेपानीको लागि अझ ५० प्रतिशत भूमिगत जल प्रयोगमा ल्याईरहेको अवस्था छ । भूमिगत जलको प्रयोग वैज्ञानिकहरूको सल्लाह विपरित पनि निकाल्ने क्रम बढ्दो छ । यस कार्यलाई नियन्त्रण गर्न आकाशे पानी अर्थात वर्षातको पानीलाई प्रयोग गर्नुृ प्रविधिसम्म प्रचारमा ल्याउन सकिएका छैन । वर्षातको पानी सङ्कलन गरी प्रयोगमा ल्याउन छानाबाट खस्ने पानीलाई सङ्कलन गरी छिमेकी राष्ट्र बंगलादेशमा गैर–सरकारी संस्था मार्फत व्यापक जनस्तरमा प्रचार भईकार्य थालनी भएको देखिन्छ । तर, काठमाडौं उपत्यकामा यस किसिमको प्रचार प्रसार भएको पाईंदैन ।
सम्बन्धित भू–वैज्ञानिक तथा भूमिगत जल विज्ञबाट अनुसन्धान गरी भूमिगत जललाई प्रदुर्षणबाट मुक्त राख्ने भूमिगत जल कानुनको व्यवस्था अत्यन्त जरुरी हुन आउँछ । तर राज्यले सर्वसाधारणलाई खुशी पार्न र क्षणिक स्वार्थका लागि यस सम्बन्धमा नैराश्यता देखाइएको पाइन्छ । जसले जहाँ चाह्यो त्यहाँ भूमिगत जल निकाल्ने र प्रयोगमा ल्याउने गरिएको छ । यसरी निकालिएको जलबाट पछि के कति असर पर्छ विचार गरिएको छैन । हुन सक्छ यसले गर्दा भविष्यमा ठुलो प्रकोपको रूप लिनसक्छ । ज्ञानको अभावमा भूमिगत जल प्रदुर्षणको चपेटाबाट बच्न गाह्रो हुन्छ । भूमिगत जलको प्रदुर्षण भूमिगत जलको ज्ञान र भूमिगत जलको कानुनको अभावमा हुने गर्छन् । यसर्थ जनसंख्याको चापसँगै बढ्दो क्रममा सेफ्टी ट्याङ्की जथाभावी तरिकाबाट निर्माण भइरहेको र परिपुर्ति हुने क्षेत्रको संरक्षित नहुँदा कम गहिराईको भूमिगत जल प्रदुर्षण हुने सम्भावना बढीनै हुने देखिन्छ । टाइफाइड, झाडा, पखालाको अलवा सेफ्टी ट्याङ्कीको मिश्रणबाट भूमिगत जलमा नाइट्रेट भाग बढी संलग्नता हुने र यस्तो अशुद्ध पानी पिउँदा नाइट्रेटको मात्रा रगतमा पाइने होमोग्लोविनमा मिसिन गई अक्सिजनलाई चलखेल गर्ने क्षमताको दर कम हुनगई स्वास्थ्यलाई असर हुने डर हुन्छ । यसर्थ भूमिगत जल दुषित भए पश्चात प्रशोधन गर्न लगभग असम्भव भएको कारण जनचेतना जगाई मानिसको धारणाको परिवर्तनका साथ–साथै महानगरपालिका र सम्बन्धित मन्त्रालयले समेत आवश्यक सोँच लिनुपर्ने बेला भएको छ ।
भूमिगत जल सम्बन्धित वैज्ञानिकहरूको भेलामा सन् १९७० मा भूमिगत जललाई प्रदुषण हुन नदिन जोखिमपुर्व मुल्याङ्कन तरिकाको विकास भएको छ । यो एक किसिमको सांकेतिक तरिका हो । जसबाट पानीको स्थिर लेभल जनसंख्याको चाप पूर्ति आदिको अध्ययनबाट भूमिगत जल संरक्षण क्षेत्रको विकास गर्न सकिन्छ । कुनै पनि योजना छनौट गर्न Vulnerability range अनुसार विभिन्न जियोलोजिकल र हाइड्रोलोजिकल तथ्याङ्कहरूमा प्रदान गर्न भार तथा अङ्कको योगफलको आधारमा अध्ययन गर्ने यो तरिकाबाट प्रदुर्षित हुने क्षेत्र वा प्रदुर्षित नहुने क्षेत्रको पहिचान गर्न सकिन्छ । विकसित देशहरूमा भूमिगत जलको दृष्टिकोणबाट संरक्षित गर्नुपर्ने क्षेत्रको राम्रै तवरले संरक्षण गरिएको हुन्छ । जहाँ मानव वस्तीको साथै खेतीपाती बँगुरपालन आदि कार्यको पूरै रोकावट नै गरेको हुन्छ । अष्ट्रियामा त भूमिगत जल संरक्षण क्षेत्रमा काँडेतार समेत लगाई पालेपहरा नै राखिएको हुन्छ । जोखिम मुल्याङ्कनको लागि मुख्यतया निम्न कुराहरूको अध्ययन गर्नु आवश्यक हुन्छ ।
D+Depth to the GW body
भूमिगत जलको जोखिमपना गहिराईमा पर्ने हुन्छ । कम गहिराईमा बढी जोखिम हुन सक्ने हुँदा पानीको स्थिर लेभल अनुसार पनि जोखिम हुने वा नुहने भनी साङ्केतिक रुपमा अध्ययनको बुँदामा समावेश गर्न सकिन्छ । उदाहरणका लागि पानीको स्थिर लेभल ०–१.५ मिटर भएको क्षेत्रमा Pesticide प्रयोग गर्दा क्षेत्रलाई १० भार दिएको हुन्छ । १५ देखि २३ मीटर वाटर लेभल भएको क्षेत्रमा Pesticide प्रयोग गर्दा ३ मात्रै भार दिएको हुन्छ । यसरी क्षेत्र अनुसार फरक–फरक भारको जोडबाट Pollution potential/non Potential क्षेत्रको पहिचान गरिन्छ ।
R+Recharge
परिपूर्ति हुने क्षेत्र संरक्षित नहुँदा पनि मानवीय गल्तीका कारणबाट भूमिगत जल दुषित हुन सक्ने हुन्छ । यसर्थ परिपूर्तिका दर बढी भएको क्षेत्रमा बढी नै भूमिगत जोखिम हुन सक्ने हँुदा यस्ता क्षेत्रलाई संरक्षित गर्दा भूमिगत जललाई स्वच्छ राख्न सकिने छ ।
A+Aquifer
पानीदिने तह अर्थात एक्विफर बढी खुल्लापन प्रसारणशील क्षमता भएका अन्य तहहरू सँग एक अर्कामा संलग्नभई फैलावट भएमा पनि भूमिगत जल जोखिम हुन सक्ने बढी सम्भावना देखिन्छ ।
S+Soil type
एक्विफर ऋयलाष्चmष्लन भएको अर्थात पानीदिन सक्ने तहको तलमाथि अप्रसारणीयशील क्षमता भएका माटोको तह भएमा जोखिम कम हुनसक्ने तर तहमा पानी सोस्न तथा प्रक्षेपण क्षमता बढी भएकोमा भने जोखिम चाँडो हुनसक्ने खस्रोपन तह मसिना कण भएका तहभन्दा बढी जोखिम हुन्छ ।
T+ Topography
भू–धरातल पनि जस्तै चिरा, दरारपन नभएका ताजा चट्टान बढी जोखिम नहुने हुन्छ । भने खाल्डा, खुल्डि, उच्च, होच्चा भू–भागबाट भने पानी बढी छिट्टै सोस्ने हुँदा भूमिगत पानीलाई जोखिमपूर्ण गर्ने तत्वहरू चाँडो नै भू–जल भागमा पुग्नसक्ने हुन्छ र साथै भिरालोपनमा भूमिगत जल कम दुषित हुन्छ किनभने यस्तो धरातलमा भूमिगत जलको वेग बढी हुन्छ ।
I+Impact of the Vadose zone (zone between the soil & top of th aquiqife)
पानीको लेभल माथिको तह कम भिजेको भएमा पनि भूमिगत जलमा जोखिमपूर्ण हुनसक्ने प्रतिशत बढी हुने हुन्छ । विशेषगरी कडा चट्टानमा भूमिगत जल अन्वेषण कार्यमा यो कुराको ध्यानदिनु जरूरी छ । कडा चट्टान भूमिगत जलको बाटो नै दरार र चिरा परेका क्षेत्र Unsaturated हुने भएकाले संख्यात्मक रूपमा जोखिम बढी हुने सम्भावना हुन्छ ।
C+Hydraulic Conductivity
कुनै क्षेत्रमा पानीदिने तहको कणहरू बढी नै प्रशारणशील क्षमता भएमा भूमिगत जल जोखिमपूर्ण हुनसक्ने बढी सम्भावना हुन्छ । एक्विफरको यो गण पम्प टेष्ट तरिकाबाट जानकारी लिन सकिन्छ ।
तसर्थ माथि उल्लिखित भएर अङ्क Vulnerability range अनुसार प्रदान गरी अध्ययन गर्ने C+Hydraulic Conductivity का बुँदाहरूलाई राम्ररी ध्यान दिएर जनसंख्या तथा उद्योगहरूको बढी चाप भएको क्षेत्रहरूमा आवश्यक अनुसन्धान गरी संरक्षण क्षेत्रहरूको पहिचान गर्नुपर्ने आजको प्रमुख आवश्यकता हो । यी कुराहरूलाई मान्ने गरी जन जागरणका कृयाकलाप गरी भूमिगत जललाई प्रदुर्षणको जोखिमबाट बचाऔं र भविष्यका सन्ततिका लागि स्वच्छ पानीको व्यवस्था गरौं ।
प्रतिक्रिया दिनुहोस्